बिहिबार, चैत्र २९, २०८०

‘धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकास गर्न आवश्यक’


कान्तिपथ



पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकासको काम गर्न सुझाव दिनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको धुलिखेल नगरपालिकाको ३६औँ स्थापना दिवस कार्यक्रममा उहाँले कला र सीपको हस्तान्तण गर्नुपर्ने भएकाले नगरभित्रको शङ्खुको इँटे र धुलिखेल बजारलाई सिमेन्टको कङ्क्रिट नभई पहिला इँटा छापेको ठाउँमा इँटा तथा ढुङ्गा छापेको ठाउँमा ढुङ्गा नै प्रयोग गर्न आग्रह गर्नुभयो ।

विकासमा कसैले पनि राजनीति गर्नुपर्ने अवस्था नरहेको समेत उहाँको भनाइ छ । उहाँले मान्छे प्रगतिबाट कहिल्यै नअघाउने भएकाले नगरपालिकाले अहिलेसम्ममा प्राप्त गरेका उपलब्धिलाई थप अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । नेता बाँस्कोटाले नेपालको राजनीतिक नेतृत्वको स्ट्राइकर कहाँ छ भनेर खोज्ने बेला आएको उल्लेख गर्दै राजनीति सही बाटोमा अगाडि नबढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख अशोक व्याञ्जूले आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्ममा करिब रु दुई अर्ब ९२ करोड ८३ लाख ३० हजार बजेट भएकामा रु दुई अर्ब ७९ करोड ४१ लाख ४८ हजार खर्च भएको बताउनुभयो । नगरपालिकाको नेतृत्व लिएपछि नगरभित्रमा ३४ किमी सडक कालोपत्र भएको जनाउँदै उहाँले पाँच किलोमिटर ढलान, ७१ किलोमिटर ग्राभेल र ३२० किलोमिटर कच्ची सडक निर्माण भएको बताउनुभयो । उहाँले सो अवधिभित्र नगरपालिकाले दुई हजार ५१९ घरधुरीमा थप धारा जडान गरी कूल पाँच हजार ७१६ घरधुरीमा खानेपानी सुविधा उपलब्ध गराएको जानकारी दिनुभयो । त्यस्तै साना–ठूला गरी ५१ उद्यान, दुई ट्रिटमेन्ट प्लान्ट र दुई झोलुङ्गे पुल निर्माण गरेको जनाइएको छ ।

त्यस्तै नगरपालिकाले धुलिखेलस्थित क्याम्पसमा स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नाका साथै काभ्रेभञ्ज्याङमा १५ शय्याको अस्पताल निर्माणाधीन रहेको उहाँले सुनाउनुभयो । नगरपालिकाको १२ वडामध्ये आठ वडा कार्यालयमा एकीकृत इन्टरनेट सेवा प्रवाहका लागि आफ्नै फाइवर जडान तथा बाँकी चारमा संस्थागत इन्टरनेट कनेक्टिभिटी मिलाइएको जनाइएको छ । त्यससँगै सेवाग्राहीलाई घरबाटै कर भुक्तानीका लागि ई–पेमेन्ट सेवा सञ्चालन र नगरपालिकाका गतिविधिको जानकारी दिनका लागि नगरपालिकाको एप्स तथा वेबसाइट र फेसबुक सञ्चालन गरिएको सो अवसरमा उहाँले बताउनुभयो ।

कर्मचारीसहित विभिन्न व्यक्ति सम्मानित

नगरपालिकाले विभिन्न कार्यमा सहयोग पु¥याउने कर्मचारी तथा सहयोगी, दाता एवं व्यक्तिलाई सम्मान गरेको छ । नगरपालिकाले स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो ।

सो क्रममा नेपाल सरकारका सचिव एवं धुलिखेल नगरवासी रवीन्द्र घोलिजुलाई धुलिखेल रत्न, रविओपी गाविसका पूर्वअध्यक्ष केदारप्रसाद कोइरालालाई धुलिखेल नक्षेत्र, कलाकार दिनेशकाजी योगललाई धुलिखेल प्रज्ञाश्री र कृषि तथा पर्यटन व्यवसायी रामबहादुर गौतम, गैससकर्मी वसन्त कुँवर, जैविक कृषि फार्म सञ्चालक रेणुका गुरुङ, धुलिखेल क्याम्पसका प्रमुख सागर तिवारी, रमाइलो छत्रछायामुनि सामाजिक संस्था र सेतीदेवी माविका प्रध्यानाध्यापक धनबहादुर विष्टलाई धुलिखेल ताराले सम्मान गरिएको छ ।

त्यस्तै नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका भोजकुमार ठकुरी र जिन्सी शाखाका मीनगोपाल तखाछेंलाई जनसेवा श्रीले सम्मान गरिएको छ । नगरपालिकाले सो अवसरमा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने, समाजसेवाको क्षेत्र, विद्यालय, स्वास्थ्यचौकी र खानेपानी आयोजनाका लागि जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत