सोमवार, अशोज १०, २०७९

लमजुङका घरवासमा आउन थाले पर्यटक


कान्तिपथ



प्रकृति र संस्कृति लमजुङको छुट्टै मौलिकता हो । यहाँका रमणीय गाउँ बस्तीले जो कोहीलाई लोभ्याउँछ नै । स्थानीयवासीको आतिथ्यता उत्तिकै राम्रो छ ।

जिल्लाकै पहिलो तथा धेरै पर्यटक आउने क्व्होलासोथर गाउँपालिका–३ स्थित एशियाकै नमूना घलेगाउँसहित बेँसीशहर नगरपालिका–३ लमजुङ दरबार नजिकै रहेको काउलेपानी, राइनास नगरपालिका–९ राइनासकोट, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरवास (होमस्टे) मा पर्यटक वृद्धि हुन थालेको छ ।

कोरोना सङ्क्रमणको तेस्रो लहर सुरुभएसँगै सुनसान बनेको यहाँको घरबासमा (होमस्टे) यतिबेला विस्तारै पर्यटक आउन थालेसँगै पहिलाकै लयमा गति लिन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण पर्यटक नआउँदा आम्दानी थप्प भएपछि निराश बन्दै आएका घरबास सञ्चालक यतिबेला आशावादी देखिएका छन् ।

पर्यटक आउन थालेसँगै अब आम्दानी बढ्ने र जनजीवन सहज हुनेमा आफूहरु आशावादी बनेको घलेगाउँका घरबास सञ्चालक गङ्गाबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेला दैनिकजसो १५÷२० जना पर्यटक आउन थालेका छन् ।” अर्का घरबास सञ्चालक दीर्घ घलेले भन्नुभयो, “पर्यटक आगमन भएसँगै केही भएपनि आम्दानी हुन थालेको छ ।” कोरोनाको पहिलो लहर सुरु हुनुअघिसम्म पर्यटक सिजनमा दैनिक ५००÷६०० भन्दा बढी पर्यटक घलेगाउँमा आउने गरेको थियो ।

अब कोरोना सङ्क्रमणको जोखिम कम भएको र पर्यटक आगमन हुन थालेकाले सोही हाराहारीमा घलेगाउँमा पर्यटक आउने अपेक्षा घरबास सञ्चालकको छ । विगतमा यहाँका घरबास सञ्चालकले प्रतिमहिना रु ३० हजारदेखि ६० हजार बढी आम्दानी गर्ने गरेको थियो । विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ३७ घरमा घरबास सञ्चालनमा छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आफ्ना कला, वेषभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुनेगर्दछ ।

विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय गाउँका रूपमा घोषणा गरेको थियो । घलेगाउँ समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । यहाँबाट ८१६३ मिटर उचाइका मनास्लु हिमाल, ७८३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), ७९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ७८९३ मिटर उचाइको हिमालचुली, ६९८६ मिटर उचाइको लमजुङ हिमाल र ६६७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ ।

यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायतको परिकार खुवाउने गर्दछन् ।

त्यस्तै यहाँ विगतमा जसरी यतिबेला कोभिडका कारणले गर्दा स्वागत कार्यक्रम र गुरुङ समुदायको संस्कृतिका कुनै पनि साँस्कृतिक कार्यक्रम भएको छैन । यसअघि घरबासमा आएका पर्यटकलाई सत्कारसँगै आफ्ना कला संस्कृति जोगाइ राख्न जुटेका गुरुङसेनीहरुको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गा लगायतका लोपोन्मुख साँस्कृति नृत्यसमेत प्रस्तुत हुने गरेको थियो ।

त्यस्तै, समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको बेँसीशहर नगरपालिका– ३ लमजुङ दरबार नजिकै रहेको काउलेपानी घरबास (होमस्टे) मा यही फागुन १ गतेयता पर्यटक आगमन सुरु भएको छ । काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले भन्नुभयो, “कोरोना सङ्क्रमणका कारण सुनसान रहेको यहाँको घरबासमा यतिबेला एक दुई दिन बिराएर समूह समूहमा ३०÷४० जना पर्यटक आउन थालेका छन् ।

यहाँ यतिबेला लालिगुराँस प्याकेज रहेको र यतिबेला आएका पर्यटक लागिगुरासँग रमाउने गरेको उहाँको भनाइ छ । उहाँले भननुभयो, “अब पर्यटक आगमन विस्तारै हुन थालेकाले विगतमा दैनिक ४००÷५०० जना आउने गरेका थिए, त्यसरी नै आउने अपेक्षा यहाँका घरबास सञ्चालकको छ । सन् २०११ बाट सञ्चालनमा आएको यस घरबासमा १५ घरमा घरबासको व्यवस्था गरिएको छ । यहाँ नेवार, गुरुङ र भुजेल समुदायको घरबास रहेको छ ।

यहाँ भने पर्यटकलाई स्वागत तथा बिदाइ विगतकै जसरी गर्न थालिएको छ । त्यस्तै गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टीका (अक्षता) ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, लोकल रक्सी तीनपटक गाउँलेले पर्यटकलाई खुवाउने गर्दछन् । अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचार खाजा खुवाउने गरेको घरवास सञ्चालक लक्ष्मी श्रेष्ठले बताउनुभयो । स्थानीयवासीले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन् ।

यहाँ विगतमा पर्यटकीय याममा पर्यटकले गाउँ नै ढाक्ने गर्दथ्यो । यहाँबाट पर्यटकले लमजुङ हिमाल, बौद्ध हिमाल, माछापुच्छ्रे, अन्नपूर्ण साउथ, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनास्लु दक्षिण, मनास्लु, च्ये, डाक्टर हर्कपिकलगायत एक दर्जन हिमशृङ्खला देख्न सकिन्छ । साथै शाहवंशीय राजाको उद्गमथलो मानिने लमजुङ दरबार, सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । त्यस्तै गाउँमा रहेको काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ । यी स्थान तथा ऐतिहासिकस्थलको अवलोकन गर्नका लागि समेत यहाँ पर्यटक आउने गरेको घरवास सञ्चालकको भनाइ छ ।

बेँसीसहर बजारदेखि दक्षिण–पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारी साधनमा ४५ मिनेट र पैदलयात्रामा साँढे एक घण्टा समय लाग्छ । पैदल यात्रुका लागि सिँढी निर्माण गरिएको छ । त्यस्तै सवारी साधनमा जाने पर्यटकका लागि सडकको स्तरोन्नति गरिएको छ । यहाँ यतिबेला विभिन्न जिल्लाबाट पर्यटकको आगमन भइरहेको उक्त समितिले जनाएको छ ।

ऐतिहासिकस्थल गाउँसहरको सोे घरवासलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट घरवास घोषणा गरेको थियो । यसपछि काउलेपानीमा बाह्य तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको समितिले जनाएको छ । सन् २०१६ मै काउलेपानीलाई खाद्यान्न तथा गुण नियन्त्रण विभाग मन्त्रालयले स्वच्छ र अग्र्यानिक भएको जनाउँदै १० हजार रकमसहित पुरस्कार प्रदान गरेको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत