बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • श्रीमान विदेशमा, धरानमा प्रेम चक्कर: हत्या गरेर प्रेमीसँग भेडेटार !

श्रीमान विदेशमा, धरानमा प्रेम चक्कर: हत्या गरेर प्रेमीसँग भेडेटार !


कान्तिपथ


टाउको, खुट्टा र शरीर छुट्टा–छुट्टै ठाउँमा फालिएको अवस्थामा शव फेला परेका दिनेश सिग्देलको हत्यामा उनकै (कान्छी) श्रीमती अनिता केसीको संगलग्नता रहेको खुलेको छ।

अनिताले आफ्ना साथी मोरङको विराटनगर–४ इकराई बस्ने सरोज भण्डारीसँग मिलेर दिनेशको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

यही फागुन ४ गते (बुधबार) सुनसरीको धरान उपमहानगरपालिका–४ अन्तर्गत (धरान–भेडेटार सडकखण्ड)को जेठामाने भन्ने ठाउँमा एउटा जेब्रा झोलामा सडेगलेको अवस्थामा पुरुषको टाउको र दाहिने खुट्टाको तिघ्रादेखि तलको भाग फेला परेको थियो।

त्यसपछि तालिमप्राप्त कुकुरको समेत सहयोगमा खोजी गर्दा प्रहरीले पहिलेको स्थानभन्दा करिब ४ किलोमिटर माथि सडक नजिकै जेब्रा झोलामा नै घाँटीभन्दा मुनिको भागको शरीरसहित बायाँ खुट्टा फेला पारेको थियो।

प्रहरीले शवको पहिचानका लागि १ नम्बर प्रदेश भित्र र अन्य प्रदेश कार्यालयहरुमा फोटो सहितको हुलिया परिपत्र र सञ्चारमाध्यमबाट समेत प्रचार गरेको थियो। महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वयमा अनुहारको भागको स्केच तयार गरी विभिन्न ठाउँमा वितरण गरी समन्वय गर्दा समेत सनाखत नभएपछि शवसँगै फेला परेको फेस मास्क र भिजिटिङ कार्डका आधारमा बहराइन प्रहरीसँग समन्वय गरेको थियो।

शवसँगै तातवीर पेट्रोलियम, बीएम मास्क लेखिएको फेस मास्क र रियो टुर्स लेखिएको भिजिटिङ कार्ड फेला परेपछि सनाखतको लागि बहराइन प्रहरीको मद्दत मागिएको थियो। प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले समन्वय गर्दा बहराइन प्रहरीले तातवीर पेट्रोलियममा सेक्युरिटी गार्डको काम गर्ने इलाम घर भएका दिनेश सिग्देल बिदामा गएको र हालसम्म पनि फर्केर नआएको जानकारी दियो।

अध्यागमन विभागको रेकर्डमा उनी जनवरी ४, २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएको देखियो। त्यसपछि प्रहरीले प्रहरीले सिग्देलका बुवा इलामको बाँझो घर भइ हाल झापाको शिवसतासी–११ झिलझिले बस्ने सुरेन्द्र सिग्देल र उनकी जेठी श्रीमती निर्मला सिग्देलमार्फत शवको सनाखत गरेको थियो।

बुवा सुरेन्द्रले दिनेशले दोस्रो विवाह गरी कान्छी श्रीमतीसँग बस्ने गरेको र विदेशबाट आउँदा सधैं त्यहाँ जाने गरेको भन्ने जानकारी दिएपछि प्रहरीले विराटनगर–३ पिपलचोकमा डेरा गरी बस्ने ३० वर्षीय अनिता केसी (दिनेशकी कान्छी श्रीमती)लाई पक्राउ गर्‍यो।

पक्राउ गरी सोधपुछ गर्दा अनिताले सुरुमै अभयोग स्वीकारिन्। आफूसँगै आफ्नो साथीले मिलेर दिनेशको हत्या गरेको बयान उनले प्रहरीलाई दिइन्।

प्रहरीका अनुसार १० महिना अगाडि बहराइन गएका दिनेश गत पुस २० गते काठमाडौं पुगेका थिए। केही दिनको बिदा लिएर नेपाल आएका उनी दोस्रो दिन (पुस २१ गते) विराटनगर पुगेका थिए।

विराटनगर पुगेको दिन उनी नोबेल अस्पताल नजिक एक होटेलमा अनितासँगै बसेका प्रहरी अनुसन्धानबाट खुलेको छ। पुस २२ गते मात्रै उनीहरु विराटनगरको पिपलचोकमा रहेको अनिताको डेरा पुगेका थिए। डेरा पुग्दा अनिताले आफ्ना साथी भनिएका प्रेमी सरोज भण्डारीलाई पनि खबर गरेकी थिइन्। दिनेश कोठामै भएका बेला दिनेश पनि त्यहाँ आइपुगेका थिए।

दुवै जनाले दिनेशसँग विभिन्न कुरा गरेर परिबन्दमा पारेको र सरोजले ल्याएको गलबन्दीले धाँटी कसेर दिनेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार दिनेशको हत्या गरेपछि २२ गते राति अनिता र सरोज बाहिरै बसेका थिए।

२३ गते बिहान दुवै जनाले स्थानीय पसलबाट ४ हजार रुपैयाँमा ग्रेण्डर मेसिन, ३ थान जेब्रा झोला र प्लास्टिकको ब्याग खरिद गरेका थिए। कोठामा आएर दुवै जनाले ग्रेण्डर मेसिन तथा खुकुरी समेतले मृतक दिनेशको घाँटी तथा खुट्टा काटेर शरीर टुक्रा पारेका थिए।

दिनेशको शवको टुक्रा–टुक्रा पारेर जेब्रा झोलामा प्याक गरेपछि सोही दिन साँझ ट्याम्पो रिजर्भ गरेर दुवै धरान गएका थिए। त्यहाँ पुगेर टाउको र दाहिने तिघ्रा भएको झोला एक ठाउँ तथा घाँटी तलको शरीर र बायाँ खुट्टा भएको जेब्रा झोला अर्को ठाउँमा फालेका थिए।

शवको व्यवस्थापन गरिसकेपछि उनीहरु पुस २३ गते राति भेडेटार पुगेको र त्यो राति त्यहीँ बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्डारीको पहिले नै विवाह भइसकेको थियो। उनका १ छोरा समेत छन्।

पछिल्लो समय सिटी सफारी चलाउँदै आएका सरोजको श्रीमतीसँग भने राम्रो सम्बन्ध थिएन। सम्बन्धमा दरार आएपछि सरोजकी श्रीमती माइतीमा नै बस्दै आएकी थिइन् र पछिल्लो समय सम्बन्ध विच्छेदको चरणमा थिए दुवै जना।

प्रहरीका अनुसार सिटी सफारी चलाउने सरोज र अनिताबीच केही वर्ष अगाडि चिनजान भएको हो। श्रीमान् विदेशमा भएकाले विराटनगरमा एक्लै बस्दै आएकी अनिता र सरोजबीच भेटघाटसँगै प्रेम सम्बन्ध पनि बाक्लियो। विगत ६ महिनादेखि उनीहरु एउटै कोठामा (श्रीमान्/श्रीमती) जसरी नै बस्दै आएका थिए।

श्रीमान् दिनेशले विदेशबाट पठाएको रकम अनिताले प्रेमी सरोजलाई नै दिने गरेकी थिइन्। दिनेशले आफूले पठाएको पैसाको हिसाब खोज्दा अनिताले ‘ब्याज आउने गरी ऋणमा लगाएको छ’ भन्ने जवाफ दिने गरेकी थिइन्। प्रहरीका अनुसार पैसाकै विषयमा दिनेश र अनिताबीच झगडा समेत हुने गरेको थियो। दिनेशबाट अझै केही पैसा निकाल्ने र उनी विदेशमा हुँदै यहाँ दुवै जना विवाह गर्ने अनिता र सरोजको योजना थियो। उनीहरु विवाहको ‘अन्तिम’ तयारीमा थिए।

तर, दिनेश विदेशबाट नेपाल आएपछि भने उनीहरुको विवाह गर्ने योजना पूरा हुन पाएन। त्यसपछि उनीहरुले दिनेशको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको नेपाललाईभले जनाएको छ।

प्रहरीले अनिता र उनका प्रेमी सरोजलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ। साथै, दिनेशको हत्यामा प्रयोग भएको गलबन्दी, शव काट्न प्रयोग भएको ग्रेण्डर मेसिन लगायत सामान पनि बरामद भएको सुनसरी प्रहरीले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत