सोमवार, अशोज १०, २०७९

दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन स्थानीय पहल


कान्तिपथ


‘देउपुरको जस्तो खेती र पाती बाजुङको ठूलो गाउँ । उराठ लाग्ने दुर्लुङको डाँडा मोहनी लाग्ने पाङ ।’

पर्वत र आसपासका क्षेत्रमा विगतमा निकै चर्चामा रहेको यस गीतमा उराठ लाग्ने भनिएको दुर्लुङको डाँडाको पहिचान अहिले भने फेरिएको छ । हिमाली एवं पहाडी दृश्यावलोकनको महत्वपूर्ण गन्तव्यमध्येको हालको कुष्मा नगरपालिका–३ स्थित दुर्लुङमा पछिल्ला वर्षमा भने ठाउँ ठाउँबाट पर्यटक पुग्ने गरेका छन् ।

स्थानीय जागरुकतासँगै यहाँको ऐतिहासिक एवं धार्मिक महत्वको प्रचारप्रसार हुन थालेसँगै विगतको उराठ लाग्ने दुर्लुङ यतिखेर जिल्लाकै मोहोनी लाग्ने गन्तव्यमध्ये एक जस्तै बन्दै गएको छ । धौलागिरिदेखि धौलाशिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमाली दृश्यलाई एक साथ नियाल्न सकिने यो ठाउँ समुद्री सतहबाट एक हजार ४०० मिटर उचाइमा छ । यस ठाउँबाट देखिने म्याग्दी, वाग्लुङ, गुल्मी, कास्की, पाल्पा, स्याङ्जा, पर्वत आदि जिल्लाका पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको स्थानीय समाजसेवी एवं दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सचिव बालकृष्ण शर्माले बताउनुभयो ।

“नेपालका बाइसे चौबीसे राजाको पालादेखिको इतिहासको साक्षी दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार दुर्लुङकोटमा मल्लकालीन राजाको दरबार रहेको थियो । दरबारका मानिसलाई सपनामार्फत त्यहाँ भूमेको थान रहेको भन्ने चेष्टा भएसँगै भूमेको थान स्थापना गरिएको जनविश्वास छ । तत्कालीन समयमा दरबार परिसरमा हतियार राख्ने र धार्मिक विधिअनुसार पूजाआजा गर्ने परम्परालाई यहाँका स्थानीयवासीले अझै पनि निरन्तरता दिँदै आएका छन् ।

दुर्लङकोटमा हाल रहेको मन्दिर भूकम्पपछि निर्माण गरिएको हो । यसअघि झण्डै ३० वर्षअघि निर्माण गरिएको मन्दिर २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । तत्कालीन प्रतिनिधिसभा सदस्य अर्जुन जोशीले सांसद विकास कोषमार्फत गर्नुभएको रु १० लाख सहयोगका साथै महायज्ञबाट उठेको रकममध्येको केही रकमसमेत गरी १७ लाखको आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको सचिव शर्माले जानकारी दिनुभयो । यस कोटमा प्रत्येक वर्ष बडादसँैं, चैते दसँैं, उधौली–उभौली आदिमा विशेष पूजाआजा हुने गरेको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

मनले चिताएको पुग्ने शक्तिपीठका रुपमा पर्वतसहित आसपासका जिल्लाबाट दर्शनार्थी आउने गरेको उहाँले बताउनुभयो । मल्लकालीन समयदेखिको सभ्यता बोकेको यो ठाउँ प्रवद्र्धनको पर्खाइमा रहेको बताउँदै पूजारी सुवेदीले यसका लागि स्थानीयवासी, जनप्रतिनिधि तथा सरकार सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो ।

प्रवद्र्धनमा पर्यटनसम्बद्ध संस्थाको चासो

दुर्लुङकोटको पर्यटन प्रवद्र्धनमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले चासो दिएका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले हालै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेल, नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहित दुर्लुङकोटको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
“दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “स्थानीय जागरुकता बढेमा निजी तथा सरकारी सबै निकायको सामूहिक साथ र सहयोगबाट यसलाई राम्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने पक्का छ ।”

दुर्लुङको राम्रो प्रचारप्रसार गर्न सके यो ठाउँ धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा स्थापित बन्न सक्ने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेलले बताउनुभयो ।

पर्यटकीय विकाससँगै यहाँका उत्पादनलाई पनि त्यससँग जोड्न सकिने बताउँदै उहाँले पछिल्ला वर्षमा सदरमुकाम कुश्मा बजारदेखि यातायातको सहज सुविधा भएका कारण पनि त्यसले पर्यटकलाई आकर्षित गर्न थप सहयोग पुग्ने बताउनुभयो ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताउँदै यसको प्रवद्र्धनका लागि स्थानीय जागरुकताको आवश्यकता औंल्याउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनलाई पुर्नउत्थान गर्न आन्तरिक पर्यटनको विकास आवश्यक भएको बताउँदै धार्मिक एवं ऐतिहासिक महत्वकास्थललाई पर्यटनसँग जोड्नु अपरिहार्य भएको बताउनुभयो। कुष्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले दुर्लङकोटसहित कुष्माका प्रमुख पर्यटकीय गन्तव्यको विकास आफूहरूको प्राथमिकतामा परेको बताउनुहुन्छ । दुर्लुङकोटसँगै यहाँ आसपासका चनौटे गाउँको तामाखानी गुफा, क्यानोनिङ, चनौटे होमस्टे तथा आम्वोट–दुर्लुङ–हलहले–क्याङ–घोरेपानी पदमार्ग आदिको पर्यटन बजारमा प्रचारप्रसार आवश्यक रहेको स्थानीयवासी बताउँछन् ।

दुर्लुङस्थित चनौटे गाउँमा चार वर्ष अघिदेखि होमस्टे सञ्चालनमा आएको र गाउँ नजिकै क्यानोनिङ सञ्चालनमा आएको स्थानीय महिला सुनकुमारी गुरुङले जानकारी दिनुभयो । “यहाँका १० घरमा पर्यटकका लागि खान बस्न सक्ने गरी होमस्टे सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “कोरोनाका कारण लामो समयसम्म बन्द होमस्टे पुनः सञ्चालनमा ल्याएका छौं ।” होमस्टेमा आउने पर्यटकले स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिन पाउनुका साथै यहाँबाट मह, किबी, सागसब्जी समेत किनेर लैजान सक्ने उहाँले जानकारी दिनुभयो ।

चनौटे घरवाससहित दुर्लुङकोट आसपासका गन्तव्यलाई पर्यटकीय रुपमा उपयोग गर्न सकेमा यहाँका स्थानीयवासीको आयआर्जनसमेत बढाउन सकिने गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत