रुस-युक्रेन युद्धको छायाँबीच विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स फ्रान्समा सुरु भएको छ । फेस्टिभल उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एडोल्फ हिटलरलाई चार्ली च्याप्लीनले ब्यंग्य गरेकै शैलीमा तानाशाहसँग जुध्न युवा फिल्ममेकरलाई आग्रह गरे ।
माइकल हाजानाभिसियस निर्देशित जम्बोइ फिल्म ‘जेड’ हेर्न प्रिमियरमा उपस्थित आगन्तुकलाई भर्चुअल स्वागत गर्न जेलेन्स्कीले औपचारिक पोशाकमै प्रस्तुत थिए । कान्समा यसपटक रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा समर्थन गर्ने फिल्म ‘जेड’ प्रिमियर गरियो ।
मंगलबार आयोजना गरिएको रेडकार्पेटमा इभा लोंगोरियो, जुलियाना मुर्रे, बेरेनिसो बेजो र ‘नो टाइम टु डाइ’ स्टार लासाना लिन्चले औपचारिक पोशाकमा रेडकार्पेट नापे ।
आगामी १२ दिनसम्म संसारका २१ फिल्मले पामदे ओर पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो समय कान्समा उत्कृष्ट भएका फिल्मले नै ओस्कारमा बाजी मारेकाले कान्समा फिल्म स्क्रिनिङ गर्न संसारका चर्चित फिल्ममेकर उत्रिएका छन् ।यसपटक टम क्रुजको ‘टप गन माभेरिक’ फिल्म स्क्रिनिङ हुनेछ । स्वयम अभिनेता क्रुज रेडकार्पेटमा हिँड्नेछन् ।
मंगलबार कान्सका जुरी पनि सार्वजनिक गरियो । जुरी सदस्यमा फ्रान्सेली अभिनेता भिन्सेन्ट लिन्डन, बलिउड अभिनेत्री दीपिका पादुकोण, रेबेका हल, असगर फरादी लगायत छन् ।
यसपटक पाँचजना महिला फिल्म निर्देशकका फिल्महरु पाम दे ओर पुरस्कार जित्ने प्रतिस्पर्धामा छन् । यसपटक नेपालले पहिलोपटक औपचारिकरुपमा प्रतिस्पर्धामा भाग लिएको छ । अविनाशविक्रम शाहको छोटो फिल्म ‘लोरी’ प्रतिस्पर्धामा छानिएको छ । आफू अभिनित इटालीको फिल्म ‘द एइट् माउन्टेन्स’ प्रिमियरमा भाग लिन नेपाली अभिनेत्री सुरक्षा पन्त पनि कान्समा गएकी छन् । उक्त फिल्म आज कान्समा प्रिमियर हुने तालिका छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ