संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई शुक्रबार फोर्स कमान्डर नियुक्त गरेका छन् ।
गुटेरेसले थापालाई सिरिया र इजरायलबीचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरुलाई ‘यूएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन् ।
फोर्स कमान्डरको जिम्मेवारी पहिलो पटक एक वर्षका लागि हुन्छ । त्यसपछि अर्को वर्ष पनि थप्ने प्रावधान रहेको छ । उपरथी थापाअघि फोर्स कमान्डरको जिम्मेवारी ६ सैनिक अधिकृतहरूले सम्हालिसकेका छन् । रथी ईश्वर हमाल, पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा, बालानन्द शर्मा, कृष्णनारायण थापा, भिक्ट्रीशमशेर राणा, पवनजंग थापा र ईश्वर हमालले यो जिम्मेवारी सम्हालीसकेका छन्।
नेपाली सेनाले नेपाल सरकारको स्वीकृतिमा उपरथी थापालाई फोर्स कमान्डरका लागि स्वीकृति दिएको थियो । त्यही आधारमा सेनाले फोर्स कमान्डरको गृहकार्य गर्यो । शान्ति मिसनमा खटिने क्रममा नेपालका ७० सैनिकले ज्यान गुमाएका छन् भने ६७ जना घाइते भएका छन् ।
विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये संख्याको हिसाबले नेपाल दोस्रो नम्बरमा छ । नेपाली सेनाका अनुसार विश्वभरका विभिन्न ११ मिसनमा ५ हजार ५ सय ७० सैनिक शान्ति स्थापनाका लागि खटिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ