नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्न ३ बजे शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसलगत्तै राष्ट्रपति र भारतीय सेना प्रमुख पाण्डेबीच शिष्टाचार भेटवार्ता हुने कार्यतालिका रहेको छ।
नेपाल-भारतका सेनाबीच विगत ७२ वर्षदेखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार पाँच दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन्। उनी सोमबार बिहानैदेखि औपचारिक कार्यक्रममा सहभागी भइरहेका छन्।
पाण्डेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई ‘माइन प्रोटेक्टिभ’ सवारीसँगै केही स्वास्थ्य सामग्री र घोडा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
जंगीअड्डामा पाण्डेले प्रधानसेनापति शर्मासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानसेनापति शर्माले सोमबार राति नै पाण्डेको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्ने छन्।
मंगलबार भारतीय सेना प्रमुख पाण्डे माउन्टेन फ्लाइटमा नाम्चे जाने कार्यक्रम छ। उनले कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्ने छन्। मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
पाण्डे बुधबार मौसम अनुकूल भएमा मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने र फर्किँदा कास्कीस्थित मध्यकमाण्डको निरीक्षण गर्ने छन्। आज नै पाण्डेले सैनिक मुख्यालय पुगेर वृक्षारोपण गर्ने छन्। उनलाई त्यहाँ गार्डअफ अनरसँगै ब्रिफिङ पनि गरिने छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ