धनुषा जिल्लाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट ६ जना थुनुवा थुनुवा कक्षको पर्खालमा प्वाल बनाएर भागेको घटनाको छानविन गर्नका लागि दुई वटा समिति बनाइएर छानविन शुरु भएको छ । गत आइतबार थुनुवा कक्षबाट ६ जना विभिन्न अभियोगका थुनुवा प्वाल बनाएर फरार भएका थिए ।
यसका साथै डिउटीमा रहेका प्रहरी सहायक निरीक्षक, प्रहरी हबल्दार र एक जना प्रहरी जवानलाई निलम्बन गर्नुका साथै ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेचन यादव सहित सम्पूर्ण प्रहरीलाई जिल्ला तानिनुका साथै प्रहरी निरीक्षक मुक्ति नारायण चौधरीको नेतृत्वमा नयाँ प्रहरी टोली परिचालन गरिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हातहतियार तथा खरखजाना मुद्दाका दुई जना अभियुक्त मध्ये एक जनालाई प्रहरीको टोलीले हिजै पक्राउ गरेको छ भने अन्य ५ जनाको खोजी गर्नका लागि मधेश प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको विशेष टोली परिचालन गरेर खोजतलास गर्ने काम भइरहेको छ ।
यता घटनाको छानविन गर्नका लागि मधेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक मनोज यादवको संयोजकत्वमा छानविन समिति निर्माण गरेको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको संयोजकत्वमा समितिको निर्माण गरेको छ ।
माटोले जोडिएको पर्खालका इँटा उक्काएर प्वाल बनाई फरार भएका मध्ये हातहतियार मुद्दाका रोशन महतोलाई पक्राउ गरेपनि अन्यको खोजी गर्ने काम भइरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनु भएको छ ।
फरार हुने मध्ये धरौटीमा रिहा हुन लागेको थुनुवा पनि रहेकाले अब उनीहरू माथि थप कारबाही हुने भएको पनि प्रहरी उपरीक्षक खड्काले जानकारी दिनु भएको छ । यस विषयमा सरकारी वकिलसँग परामर्श हुने पनि उहाँले जानकारी दिनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ