नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंक र नेपाल प्रहरी बीच नेपाल प्रहरी प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र प्रभु बैंक लिमिटेडको तर्फबाट बैंकका मुख्य प्रबन्धक मञ्जय राज पाण्डेले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच हस्ताक्षर गरेका हुन् ।
उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने यस पुण्य कामको लागि प्रभु बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरे ।
सिसिटिभि जडान लगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैंकसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताए । साथै पछिल्लो समयमा बढ्दो डिजिटल ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले बैंकिङ क्षेत्रसँग सहकार्य गर्दै जाने उनले बताए । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपालको एउटा व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदान प्रदान हुने बताए ।
सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमररशहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडा समेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ प्रभु बैंक लिमिटेडले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।

सिआईबीले शेरचनले आफन्तका नाममा कर्जा प्रवाह गरी करोडौं अपचलन गरेको प्रकरण छानविन गरिरहेका बेला अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँ नेपाल प्रहरीलाई प्रदान गर्ने सिइओ शेरचनको समझदारीप्रति शंका उत्पन्न भएको छ ।
अनुसन्धानलाई प्रभावित पार्ने उद्धेश्यसहित सिइओ शेरचनले छात्रवृत्ति अक्षय कोष स्थापनाका लागि समझदारी गरेको हुनसक्ने स्रोत बताउँछ । सिआईबीले प्रभु लगायतका केही बैंकहरुको खराव कर्जाका फाइल खोतल्न लागेपछि सिइओ शेरचन आईजीपी सिंहलाई प्रभावमा पारी छानविनलाई रोकाउने योजनामा लागेका छन् । प्रभु बैंकमाथिको घोटाला छानविन गर्ने हो भने शेरचन जेल जाने निश्चित छ ।
शेरचनले कीर्ते काम गरेर समस्यामा परेको जानकी मेडिकल कलेजको नाममा ऋण प्रवाह गरेको र प्रत्येक वर्ष भ्यालुएसन बढाउँदै कहिले कलेजलाई बैंकको नाममा त कहिले कलेज नै आफन्त ससुराहरुको नाममा ल्याई ऋण प्रवाह गरेर आर्थिक लाभ लिंदै आएका छन् ।
शेरचनले बैंकबाट ऋण अपचलनकै लागि सेटिङमै आफन्त र नातागोताका व्यक्तिलाई राम जानकी हेल्थ फाउण्डेसन प्रालिद्वारा सञ्चालित जानकी मेडिकल कलेजको नेतृत्वमा लगेका थिए ।

कम्पनी रजिष्टार कार्यालयको रेकर्ड अनुसार धन बहादुर शेरचन, हरिकृष्ण भट्टचन र हरिमान लामा लगायतको समूहले जानकी हेल्थ फाउण्डेसन प्रालिको नाममा शेयर किनेका थिए । धन बहादुर शेरचनका आफन्त पर्ने व्यक्ति हुन भने हरिकृष्ण भट्टचन अशोक शेरचनकै ससुरा हुन् । कम्पनी रजिष्टारको रेकर्ड अनुसार २०७२ साल जेठ २२ मा हरिमान लामा, हरिकृष्ण भट्टचन र धन बहादुर शेरचन अर्थात डिबी शेरचनको नाममा शेयर खरिद भएको थियो ।
हरिमान लामा र उनका भाई गणेशमान लामा ठगी मुद्दामा फरार भएपछि पछिल्लो समय फेरी जानकी मेडिकल कलेजको शेयर ओम प्रसाद पाण्डे ‘ओपी’ लगायत समूहको नाममा हस्तान्तरण गरिएको थियो । ओपी पाण्डेलाई उनै अशोक शेरचनले डमी सञ्चालक बनाएर फाइदा लिंदै आइरहेका छन् ।
कम्पनी रजिष्ट्रार कार्यलको रेकर्ड अनुसार जानकी हेल्थ फाउण्डेसनमा हरिकृष्ण भट्टचनको नाममा ३२ लाख १ देखि ६१ लाख ५० हजार ८६० गरी २९ लाख ५० हजार ८६० कित्ता शेयर रहेको देखिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ