काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)पर्यटन समिति तथा पर्यटनका लागि युरोप–नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा ‘नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवद्र्धन’ विषयमा आयोजित अन्तक्र्रियामा उहाँले संस्कृतिसहितको पर्यटन विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ संस्कृति, रैथाने ज्ञान र स्वादसहितको पर्यटन विकास गर्नुपर्छ, रैथाने स्वादलाई पर राखेर पर्यटन विकासको कल्पना गर्न सकिँदैन, हाम्रा होटल रेस्टुराँमा पनि नेपाली स्वाद पस्कने वातावरण बन्नुपर्छ, विदेशी परिकारको मात्र भर परेर पर्यटनको विकास हुँदैन ।”
पर्यटनमन्त्री किराँतीले पर्यटनसँग उत्पादन जोड्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्रालयले छिट्टै कार्यक्रम सूची बनाएर सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवर्द्धनको रणनीति तयार गरिने उल्लेख गर्नुभयो ।
उहाँले काठमाडौँ उपत्यकाका सात सम्पदा जोड्ने गरी छिट्टै बस सेवा सञ्चालन गरिने पनि जानकारी दिनुभयो । सातवटै सम्पदाको इतिहास र महत्त्वबारे आवश्यक जानकारीसहित ती क्षेत्रमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले सम्पदा बसयात्रा सुरु गर्न लागिएको उहाँको भनाइ छ । मन्त्री किराँतीले हरेक सम्पदाको सर्किट बनाएर नेपालीपनको पर्यटन विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसेले नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि ‘टुरिज्म कूटनीति’ सम्भाव्यताको अध्ययन गरेर पर्यटन मन्त्रालयले नीतिगत योजना ल्याउन जरुरी भएको उल्लेख गर्नुभयो । पूर्वराजदूत मधुरमण आचार्यले पर्यटनमा लगानी बढाएर सरकार र निजी क्षेत्रको साझेदारीमा प्रवर्द्धनात्मक कार्यक्रम चलाउनुपर्ने बताउनुभयो । अर्का पूर्व राजदूत लक्की शेर्पाले एनआरएनएसँगको समन्वय र सहकार्यमा पर्यटन प्रवद्र्धन गरिनुपर्ने सुझाउनुभयो । कार्यक्रममा पूर्वराजदूतहरु दीपक धिताल, भीम उदास, डा अञ्जना शाक्यलगायतले पर्यटकीय पूर्वाधार विकास र प्रचुर सम्भावनाको सदुपयोग गरेर प्रवद्र्धन अभियान चलाइनुपर्नेमा जोड दिनुभयो । रासस
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ