शुक्रबार, बैशाख ४, २०८३
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • अवकाश हुन पर्ने मान्छेलाई बढुवा गर्नेहरुमाथि कारबाही हुनु पर्छ कि पर्दैन ?

अवकाश हुन पर्ने मान्छेलाई बढुवा गर्नेहरुमाथि कारबाही हुनु पर्छ कि पर्दैन ?


कान्तिपथ


केही दिन अगाडी नेपाल प्रहरीको डिआइजीबाट एआइजी बढुवा हुने सम्भावितहरू मध्यका एक अशोक सिंहको नागातिकतामा उल्लेखित जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक भयो रे त्यसैले उनीलाई बढुवा हैन कारबाही हुने भयो रे भन्ने आयो ।

नेपाल र नेपाली जनताको सुरक्षाको मुख्य जिम्मेवारी वहन गर्दै आएको नेपाल प्रहरीका जवान देखि अधिकृतसम्मको सम्मान र सुरक्षा हुनपर्छ तब मात्रै दिनरात बिदा बार नभनी खटने उनीहरूले गरेको सेवाको कदर हुन्छ भन्ने लागेर उनीहरूलाई परेको अन्याय विरुद्ध सदैव बोल्दै आएको हुनाले भर्ना गरिँदा शैक्षिक योग्यतामा भएको जन्म मितिको आधारमा भर्ना गरिएको अधिकृतलाई अवकाश चाहिँ नागरिकतामा भएको जन्म मितिको आधारमा गर्न खोज्नु अन्याय हुन्छ भन्ने दलिल प्रस्तुत गरेको थिएँ ।

मेरो त्यो दलिल पढनेहरु मध्य कतिपय मेरा हितैषीहरूले अशोक सिंहले राजीनामा गर्ने भए रे भन्ने समाचारहरू पढेपछि मलाइ कल गर्दै सहानुभूतिको स्वरमा भन्दै हुनुहुन्थ्यो ”ओह हो अशोक सिंहले त राजीनामा दिने भएछन् त है, तपाईँले त्यसरी लेखेको त बेकार भयो ।” उहाँहरूको म प्रतिको सद्भाव जति आभारयुक्त थियो त्यतिकै मात्रामा दुखदायी थियो उहाँहरू अज्ञानता । किन ? किन भने मेरा सार्वजनिक रूपमा अभिव्यक्त तर्क कुनै निजी नाफा घाटामा आधारित त हुँदैन नै अनि त्यसको अलावा मेरा टिप्पणीहरू विषय र घटनाहरू सँग जोडिएका सत्य तथ्य सँग जोडिएको हुने गर्छ तर त्यसरी अनावश्यक सहानुभूति प्रकट गर्नेहरूले त्यो सत्य बुझ्नु भएन । थाहा छैन अशोक सिंहले राजीनामा गर्छन् वा गर्दैनन् ।

त्यो उनको नितान्त निजी कुरा हो । त्यसमा उनको स्वनिर्णयको अधिकारको खिलाफ बोल्ने वा लेख्ने छुट पनि हामीलाई हुने कुरै भएन । तर जेसुकै अवस्थामा होस, अनि चाहे त्यो अशोक सिंहको होस वा अरू कसैको होस, सेवा प्रवेश गर्दा निजको शैक्षिक योग्यतामा उल्लेख भएको जन्म मितिले मान्यता पाएको छ भने त्यसैको आधारमा उसको अवकाश हुनुपर्छ र नागरिकतामा उल्लेखित जन्म मितिको आधारमा भर्ना भएको छ भने सोही बमोजिम उसको अवकाश हुनुपर्छ ।

यदि जन्म मिति नागरिकता र शैक्षिक योग्यता प्रमाणपत्रमा समान हुनुपर्थ्यो भने सो भए नभएको यकिन नगरी नियुक्ति दिनेहरूलाई कारबाही हुनुपर्छ । अशोक सिंहकै हकमा पनि त्यही हो नि । अहिले दाबी गरिए अनुसार उनको नागरिकतामा भएको जन्म मिति (हुन त त्यसमा दिन महिना वर्ष खुलेको छैन यसै पनि) लाई नै आधार मान्ने हो भने उनी भर्ना हुँदा उनको उमेर प्रहरी निरीक्षकमा भर्ना हुने भन्दा ज्यादा थियो रे ।

त्यसको मतलब के ? त्यसको मतलब उनलाई भर्ना गर्दा नै उनको शैक्षिक योग्यतामा भएको जन्म मितिलाई आधार मानेर भर्ना गरिएको हैन त ? अनि अहिले अवकाश चाहिँ सुरु भर्नाकै बेला अस्वीकार्य भएको जन्म मितिलाई आधार मानेर गर्ने भन्ने पनि हुन्छ ? अनि अझ कतिपयले त उनको नागरिकतामा उल्लेखित जन्म मितिलाई आधार मान्दा त उनले एसएसपीमै घर जान पर्थ्यो भन्ने पनि सुनियो !

पहिलो कुरो त त्यसो हो भने अवकाशमा जान पर्ने मान्छेलाई के कति आधारमा के हेरेर बढुवा दिएको ? बढुवा हुने उम्मेदवारको विवरण समेत नहेरी अवकाश हुन पर्ने मान्छेलाई बढुवा योग्य देख्ने कर्मचारी प्रशासन प्रमुख, मानव स्रोत विभाग प्रमुख देखि आइजीपी समेतलाई चाहिँ कारबाही गर्नु पर्छ कि पर्दैन ? त्यसो हुन्छ त ? हुँदैन किन भने उनीहरूले पनि भर्नामा जे जन्म मितिको आधारमा अशोक सिंहले भर्ना पाए त्यसैलाई मानेर नै अवकाश हैन बढुवा योग्य देखे । त्यसै हुनुपर्थ्यो । हो मेरो तर्क विश्लेषण र लेखाइ तिनै सत्य तथ्यमा आधारित हुन जस प्रति मेरो अपनत्व सदैव रहने नै छ ।

मैले उठान गर्न खोजेको प्रवृत्तिको हो त्यसरी प्रवृत्तिको पक्षपोषण वा विरोध गर्दै गर्दा त्यसको उदाहरणको रूपमा चर्चा हुने पात्रहरू प्रतिनिधि पात्रहरू हुन । त्यसैले सेवा प्रवेश गरेको समय देखि निरन्तर नागरिकताको जन्म मिति र शैक्षिक योग्यताको जन्म मिति फरक छ भने भर्ना देखि बढुवासम्म जुन मितिले प्राथमिकता पाउँदै आएको छ त्यही जन्म मिति अनुसार नै अवकाश हुनुपर्छ भन्ने सिद्धान्तको वकालत गर्ने क्रममा अशोक सिंह (जो हामी जस्तो सर्व साधारणले थाहा पाएसम्म एक अब्बल प्रहरी पनि हुन) को हकमा पनि हुनुपर्ने त्यही हो भनेको हो ।

अव यो सत्य तथ्य राख्न अशोक सिंह जागिर खाइरहन्छन् वा उनले राजीनामा गर्छन् भन्ने कुराले मलाई के फरक पर्छ ? उनले जागिर खाए पनि छोडे पनि त्यस्तो अवस्थामा यस्तो हुनुपर्छ भन्ने दलिल त म राखिनै त रहन्छु ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत