बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • पर्यटन
  • मौलाकाली केबलकार आजदेखि सर्वसाधारणको लागि खुल्ला, बिहानैदेखि भक्तजनको भिड

मौलाकाली केबलकार आजदेखि सर्वसाधारणको लागि खुल्ला, बिहानैदेखि भक्तजनको भिड


कान्तिपथ


चितवन । नयाँ वर्ष २०८०को अवसर पारेर नवलपुरको गैडाकोट स्थित मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ । केबलकार सञ्चालनमा आएसँगै बिहानैदेखि मौलकाली मन्दिर दर्शन गर्न जाने भक्तजनको भिड बढेको छ । औपचारिकरुपमा केबलकारको उद्घाटन नगरिए पनि नयाँ वर्षको अवसर पारेर दर्शनार्थी तथा सर्वसाधारणको लागि खुल्ला गरिएको मौलाकाली केबलकार प्रालिले जानकारी दिएको छ । आज बिहान ६ बजेदेखि केबलकार दर्शनार्थीको लागि खुल्ला गरिएको कम्पनीका व्यवस्थापन टीमका कर्मचारी सुरज पौडेलले जानकारी दिनुभयो । ‘आजदेखि केबलकार सञ्चालनमा ल्याएका छौँ दर्शनार्थीको उत्साहजनक भिड छ । हामी बिहानैदेखि यसको व्यवस्थापनमा जुटेका छौँ ।’ पौडेलले भन्नुभयो ।

केबलकार यसअघिनै पूर्ण परिक्षण गरेर सञ्चालन गरिएपनि संभावित जोखिम र प्राविधिक समस्यालाई मध्यनजर गरी सम्पूर्ण टीम तयारी अवस्थामा रहेको पौडेलले बताउनु भयो । ‘यो अत्यन्तै नयाँ टेक्निोलोजी हो, पूर्ण रुपमा सुरक्षित र आरामदायी पनि छ । नियमित रुपमा विद्युत प्रवाहको लागि पनि कुनै समस्या छैन ।’ उहाँले भन्नुभयो ।

नयाँ बर्ष र उद्घाटनको अवसर पारेर केबलकारले दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको कम्पनीले जनाएको छ । केही समयको लागि केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरूको लागि रु ४१५ जेष्ठ नागरिकहरूको लागि रु ४१५ र फरक क्षमता भएकाहरूको (अपाङ्ग) लागि रु २७५ को टिकट दर रहेको जनाएको छ । ‘यो हालको उद्घाटन र नयाँ वर्षको अवसरको शुल्क हो । औपचारिक उद्घाटनपछि कम्पनीले शुल्क केही बढाउँछ होला । पौडेलले भन्नुभयो ।

मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बालबालिकाको लागि निःशुल्क सेवा दिने जनाएको छ । केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरूले मोबाइल एप्लीकेसनमा आईएमइ पे डाउनलोड गरेर उक्त एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरू मार्फत समेत टिकट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

केबलकारको औपचारिक उद्घाटन मध्य बैशाखसम्म गर्ने तयारी रहेको बताइएको छ । एकहजार दुईसय मिटर लामो केबलकार मार्गमा ६ वटा टावर निर्माण गरिएका छन् । १२ वटा यात्रु बोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ । एउटा (गोन्डुला) डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न न्यूनतम पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत