नेपालमा बहुदलीय व्यवस्था घोषणा भएपछि गृहमन्त्री बनेका कांग्रेस नेताहरुलाई गृहमन्त्रालय नफापेको देखिएको छ। पञ्चायी व्यवस्थाकाविरुद्ध संघर्ष गरेका कांग्रेस र कम्युनिस्टले ०४६ को ऐतिहासिक जनआन्दोलनपछि पालैपालो बहुदलीय प्रजातन्त्रको उपयोग गरे।
बहुदलपछिको ३४ वर्षमा ११ नेता २५ पटक प्रधानमन्त्री भए । बहुदलपछि कांग्रेसबाट मात्रै १३ पटक, एमालेबाट ५ पटक, माओवादीबाट ४ पटक नेताहरु प्रधानमन्त्री भए। राप्रपाबाट सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द तथा २०६९ मा प्रधानन्यायाधीश खिलराज रेग्मीले समेत मन्त्रिपरिषदको नेतृत्व गरे।

यही बीचमा पटक-पटक गरी सयौं नेता मन्त्री बने। कतिपय मन्त्री पदमै रहँदा र कतिपयले पद गुमाएपछि व्यक्तिगत र राजनीतिक जीवनमै बद्नामी कमाए। कांग्रेसबाट गृहमन्त्री बनेकाहरुमा भने अनौठो संयोग देखियो, भ्रष्ट्राचार ।
देउवाका विश्वासपात्र पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दायर भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य खाँणसँगै अन्य २९ जनाविरुद्ध पनि विभिन्न पाँच मुद्दा अदालतमा दायर भएको छ। खान वैशाख २७ गते बिहान पक्राउ परेका थिए।

कांग्रेस कै पूर्वगृहमन्त्रीहरुमा खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार पनि भ्रष्ट्राचार काण्डमा डामिएका छन्। खड्का र जोशीले उनीहरुमाथिको भ्रष्टाचारको आरोप अदालतबाट प्रमाणित भएर कैदसमेत बसे। पदको दुरुपयोग गरेर गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोप प्रमाणित भएपछि खड्का कैदी बन्न पुगेका थिए।
खुमबहादुर खड्का २०५२ असोज ५ देखि २०५३ फागुन २८ सम्म र २०५४ मंसिर १८ देखि २०५५ वैशाख ७ सम्म गरि दुई पटक गृहमन्त्री थिए। तनहुँका गोविन्दराज जोशी २०५५ वैशाख ८ देखि २०५६ असार १५ गतेसम्म गृहमन्त्री बनेका थिए। उनीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा परेको थियो।

विजयकुमार गच्छदार भ्रष्टाचारको मुद्दा लागेका कारण अघिल्लो संसदमा सांसद पद निलम्बन भएको थियो। बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
२०७६ माघ २२ मा ९ करोड ६५ लाख बिगो दाबीसहित अख्तियारले गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा विशेष अदालतमा चलिरहेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ