शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीलाई होला त कारबाही ?

महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीलाई होला त कारबाही ?


कान्तिपथ


पटकपटक विवादमा आइरहने नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि यो पटक गम्भीर आरोप लागेको छ। आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेपछि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको हो।

पालमाथि थप बुझ्न भन्दै प्रहरी हेडक्वाटरमा समेत बोलाइएको छ। उनी अहिले प्रहरी हेडक्वाटरमा छन्। तर यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायत भने आफू जानकार नभएको दाबी गर्छन्।

‘उहाँसँग केही बुझ्नुपर्ने भएकाले हेडक्वाटरमा बोलाइएको हो,’ प्रवक्ता कडायतले भने, ‘महिला प्रहरीलाई यौन हिंसा गरेको भन्ने विषय जानकारी भएन। त्योबारे प्रदेशलाई जानकारी होला।’

स्रोतका अनुसार घटना गत शुक्रबारको हो। ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो।

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। त्यसपछि ती महिला एसएसपी बसेको क्वाटरमा पुगेकी थिइन्। क्वाटरमा एसएसपीले महिला हवल्दारलाई भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं।’

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको छ।

के थियो घटना ?
गत शुक्रबार एक सहायक हवल्दार बिदा स्वीकृत गरेर घर जान लागेकी थिइन् । डिएसपी कृष्ण ओझाले उनको बिदा स्वीकृत गरेका थिए । त्यसबारे कार्यालय प्रमुख एसएसपी पाललाई जानकारी गराइयो । उनले सञ्चार सेटबाटै आदेश दिए, ‘बिदा जान लागेकी हवल्दारलाई मकहाँ पठाउनू ।’

एसएसपी पाल क्वार्टरमा थिए । आदेशअनुसार सहायक हवल्दार कोठामा पुगेपछि उनले भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ ।’ एसएसपीको व्यवहारले उनी ‘सक’ भइन् । ‘बुबासमानको मान्छे, के कुरा गर्नुभएको सर’ भन्दै उनले प्रतिवाद गरिन् । एसएसपी पालले अझै उनलाई फकाउने प्रयास गरे । महिला हवल्दार रिसाएर त्यहाँबाट निस्किइन् । उनका आफन्त पनि सोही प्रहरी कार्यालयमा कार्यरत थिए, घटनाबारे तत्कालै जानकारी गराइन् । ड्युटी अफिसर रहेका इन्स्पेक्टरलाई पनि बताइन् । कार्यालयमा हल्लीखल्ली मच्चियो । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत