पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान बुधबारदेखि हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सको जहाज पहिलो पटक बिहान साढे ९ बजे अवतरण गर्ने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमति अनुसार सिचुवान एयरलाइन्सले पोखरामा न्यारोबडी ए ३१९ जहाज ल्याउने भएको छ । चिन बाट पोखरामा पहिलो चाटर्ड उडान बुधबार हुने भएपनि नियमित उडानको भने तालिका सार्वजनिक भएको छैन ।
पोखरा–चिन नियमित उडानको विषयमा सिचुवान कम्पनी सँग छलफल भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । सिचुवान एयरलाइन्सको जहाजमा चीनको छेन्दुबाट चिन भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली आउने भएको छ । उक्त जहाजमा उहाँहरू सँगै पोखराको फेवातालमा असार ८ र ९ गते हुन लागेको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरू पनि आउन लागेको गौतमले बताउनुभयो ।
सिचुवान एयरलाइन्सको जहाज बाट १३० जना यात्रु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदै छन् । चिन भ्रमणबारे अध्यक्ष तिमिल्सिनाले पोखरा विमान स्थलमै सञ्चारकर्मीलाई जानकारी गराउने कार्यक्रम समेत तय भएको छ । ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण हुने उक्त जहाज पोखरामा १ घण्टा रोकिने र ११ बजे काठमाडौँ उड्ने गरी कार्यक्रम तय भएको बताइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०२३ जनवरी १ का दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । यस विमानस्थलमा आन्तरिक उडान बाहेक बाह्य उडान भने हुन सकिरहेको छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ