मङ्लबार, अशोज ९, २०८०

समृद्धिको पर्खाइमा रारा


कान्तिपथ


मुगु । हिउँदमा हिउँले गमक्क ढाकिने र वर्षामा रङ्गीविरङ्गी फुलले छपक्क छोपिने धर्तीको भुस्वर्गको रुपमा रहेको राराताल २०३२ सालमा जैविक विविधताको संरक्षण गरी राराको प्राकृतिक वातावरण लाई संरक्षण गरि जस्ताको तस्तै राख्नको लागि रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । निकुञ्ज स्थापना पछि छाप्रु गाउँका बासिन्दाहरूलाई २०३५ सालमा बाँके जिल्लाको चिसापानीमा सारियो ।

निकुञ्ज स्थापना भएपछि बाध्यात्मक स्थितिमा साना लालाबाला काखीमा च्यापेर  पिठिउँमा भारी बोकेर पशुचौपाय सहित रुँदै रुँदै आफ्नो वर्षौँदेखि भोग गर्दै आएको थाकथलो छोड्न बाध्य पारियो । यसको पीडा कस्तो होला भोग्ने लाई थाहा हुन्छ । यसो गर्नको मुल उद्देश्य नै जैविक विविधताको संरक्षण गरि भविष्यमा पर्यटनको बिकास गर्नु थियो । 

तर यतिका वर्षसम्म राराले विकासको गति लिन सकेन । समय सापेक्ष नेपालमा शासन व्यवस्था फेरिए तर राराको विकासमा कुनै किसिमको ठोस नीति बनेन । लाग्छ राराको अस्मिता सँग खेल्ने धेरै भए । आज सम्म पनि खेलिरहेका छन् ।

विश्वका केही देशहरूमा कृत्रिम रुपमा तयार पारिएका पूर्वाधारबाट विश्वभरिका पर्यटकहरू आकर्षित गरेर समृद्धि तिर लम्केका मुलुकहरू पनि धेरै छन् ।  

तर कर्णाली प्रदेश अन्तर्गत  पर्ने मुगु जिल्ला छाँयानाथरारा नगरपालिका वडा नं ९ मा अवस्थित प्राकृतिक रुपमा सजिसजाउ स्वर्गकी अप्सरा अनि भुस्वर्ग उपनामले चिनिने नेपालकै सबै भन्दा ठूलो र गहिरो  अनि चारैतिर हरियाली जङ्गलले घेरिएको बिचमा स्वर्गको एक टुक्रा जस्तै देखिने हाम्रो देशको प्राकृतिक सम्पत्ति हो रारा ।  तर राराको पर्यटन बिकास भरपर्दो रुपमा नहुँदा मुगु मात्र नभएर  राज्यले वर्षेनी आर्थिक क्षति बेहोर्नु परेको छ । पर्यटन व्यवसाय आर्थिक विकासको मेरुदण्डको रुपमा लिन सकिन्छ । तर राज्यको यस तर्फको उदासीनताले सही गति लिन सकेको छैन ।

अहिलेको एक्काइसौँ शताब्दीमा  यतिको सम्भावना हुँदाहुँदै पनि रारामा पर्यटन प्रवर्धन नहुनु विडम्बना मान्न सकिन्छ । पर्यटन विकासको मुख्य आधारशिला भनेकै सडक सञ्जाल हो तर कर्णालीका बासिन्दाको लाइफ लाइनको रुपमा रहेको कर्णाली राजमार्ग  को  अहिले सम्म स्तर उन्नति  हुन सकेको छैन । यस राजमार्ग लाई काल मार्ग पनि भन्ने गरिन्छ । यसको उपनाम नै काफी छ ।

सुर्खेत देखि कालिकोटको नाक्मसम्म मात्र कालोपत्रे भएपनि जुम्लाको गोठीजिउला देखि मुगुको गमगढी सम्मको ९४ किलोमिटर अहिले सम्म कालोपत्रे हुन सकिरहेको छैन । वर्षाको समयमा हिलाम्मे सडकमा मुस्किलले माल बाहक लगायत अन्य साना सवारीका साधन चल्ने गरेका छन् । हवाई यातायातको रुपमा रहेको मुगुको ताल्चा विमानस्थलमा नियमित हवाई उडान समेत छैन । आएका केही पर्यटकहरू समयमा नै हवाई टिकट नपाएर एयरपोर्ट मै अलपत्र परेका थुप्रै उदाहरणहरू छन् ।

रारामा अहिलेसम्म व्यवस्थित होटेलहरु पनि बन्न सकेका छैनन् । पाहुनाहरूलाई सहजै खान र बस्नको लागि सुविधा सम्पन्न होटेल नहुँदा फाटफुट रुपमा आएका पर्यटकहरू भन्छन् कि बाटोमा जति दुख पिडा भएपनि रारा पुग्दा यहाँको सुन्दरताले सबै पिडा भुलिन्छ । दिनभर रारा तालको सुन्दरतासंगँ मोहित भएर दिन बितेको थाहा नपाउने पाहुनाहरू बेलुका घाम डुब्ने बेला होटेलको खोजीमा जाँदा कोठा नपाउने  भएपछि बेवारिसे जस्तै बनी दुई घण्टा ओरालो बाटो हिँडेर भोग प्यास र थकित मुद्रामा सदरमुकाम गमगढी बजार राती अबेर कोठा खोज्दै गरेका थुप्रै  घटना छन् । तर रारामा रहँदा खानपिन र बासस्थानको  उचित व्यवस्था नहुँदाको पिडाले अब रारा कहिले नआउने बताउनु हुन्छ पर्यटकहरू ।

यो हामीले सुनेको तितो यथार्थ हो ।  राराताल भन्दा अलि बाहिर पश्चिम खतेडतिर जाने बाटोमा पर्ने माझघट्टमा र दक्षिण दिशातिर पर्ने रारा तालको मिलिबाट आधा घण्टा पर सल्लेरीमा केही होटेल भएपनि त्यति व्यवस्थित छैनन् ।  न्यूनतम पूर्वाधारको बिकास बिना पर्यटन विकासको परिकल्पना समेत गर्न सकिँदैन । राज्यले राराको पर्यटन विकासमा करोडौँ लगानी गरिसकेको छ । तर त्यसको प्रतिफल भने न्युन छ गुणस्तरहीन पूर्वाधार बन्दा सरकारको लगानी बालुवामा पानी भने जस्तै भएको छ ।  कन्चन निलो आकाश जस्तै देखिने रारा दिनमा आफ्नो रङ्ग बदल्छ । बिहानीको समयमा ताल स्थिर रहन्छ भने दिउँसो हावाको वेगसँगै तरङ्गित हुँदा तालको वरिपरिको तटीय क्षेत्रमा पानी छालको माल्टा आउँछ । 

जैविक विविधताले भरिपूर्ण राराताल रारा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्दछ भने जल तथा मौसम विज्ञान विभागले  मिति २०५९ भदौ १३ देखि असोज १ गते सम्म रारामा गरेको पछिल्लो सर्वेक्षण अनुसार तालको क्षेत्रफल १० दशमलव ६२७ स्क्वायर किलोमिटर, परिधि १४ दशमलव ८८२ किलोमिटर अधिकतम गहिराई १६९ दशमलव ९३० मिटर, अधिकतम लम्बाई ५ दशमलव २ किलोमिटर र अधिकतम् चौडाई २ दशमलव ७ किलोमिटर रहेको छ ।  यस तालको पानीमा विश्वमा नपाइने असला जातका माछाहरू पाइन्छ भने विश्वको उच्च स्थानको ठाउँमा माछा पाईने एक मात्र ताल रारा हो  । 

विभिन्न सयौँ रंगिबिरंगी फुलहरू फुलेर मनै लोभ्याउने राराताल संरक्षित क्षेत्र भित्र पर्ने भएकाले  बाघ, भालु बँदेल, भोरल लगायत जङ्गली जनावरहरूका साथै राष्ट्रिय पंक्षि डाँफे, कालिज, फग्राँस च्याखुरा  जस्ता  चराचुरिगीहरुको बास स्थान रहेको छ ।

यतिमात्र हैन मुगु जिल्ला कार्मारोङ्ग गाउँपालिका दोल्फुमा अवस्थित पवित्र धार्मिक तिर्थ स्थलको बिम्ब रारा तालमा पर्ने हुनाले राराताल बाट छायाँनाथ तीर्थको पनि दृश्यावलोकन गर्न सकिन्छ । त्यसैले रारा धार्मिक हिसाबले पनि उतिकै महत्त्वपूर्ण रहेको छ ।  रारा तालको पूर्वतिर पर्ने राराताल किनारा भन्दा केही माथि करिब ७, ८ मिनेट हिँडेर पुगिने घनाघोर लेकाली सल्लाको घारी भित्र ठाकुरनाथको मन्दिर छ । उक्त मन्दिर भित्र एउटा ढुङ्गा छ जसमा भगवान् शिवले बाण हानेको निशानी को रुपमा कुहिना, घुँडा र खुट्टा को छाप अहिले सम्म जस्ताको तस्तै हेर्न सकिन्छ । शक्ति पीठको रुपमा यही ठाकुरनाथको मन्दिर नजिकै पर्ने गम्गी चौरमा साउने सक्रान्तीमा मेला लाग्ने गर्दछ । 

रारा घुम्न आउने जोसुकै ले यस मन्दिरको दर्शन गरेको खण्डमा मनोकाङ्क्षा पुरा हुने र रोगब्याधको भय नहुने धार्मिक विश्वास रहँदै आएको छ ।  यो बाण हान्नको खास कारण के थियो भने धेरै वर्ष पहिले रारा तालको पानीको निकास कतैपनि नभएर फुट्ने अवस्थामा पुगेपछि त्यसलाई निकास दिनको लागि भगवान् शिवले सोही मन्दिर भएको स्थान बाट बाण हान्दा पश्चिम खतेड तिर गल्छी बने पछि  ताल फुट्नबाट जोगिएको भन्ने विश्वास गरिन्छ ।  खतेड भेगतिरको निजार भन्ने गल्छी बाट तालको  पानी बग्ने गरेको छ । वर्षाको बेला तालमा पानीको सतह बढ्दा बढी पानी बग्ने र हिउँदमा तालमा पानीको सतह घट्दा निजार खोलामा पानीको सतह घट्ने गरेको पाइन्छ । रारा तालको पानी बग्ने खोला निजार हुँदै खतेड खोलामा परिचित छ ।

यति सुन्दर भुस्वर्गको रुपमा रहेको रारालाई पर्यटनको विकासमा सरकाले एउटा ठोस नीति पारित गरी पर्यटन प्रवर्द्धनका लागि चाहिने न्यूनतम मापदण्डहरूको पहिचान गरी रारा बिकास परियोजना मार्फत सडक, बिजुली, सञ्चारका साथै सुविधा सम्पन्न होटेलहरु र स्थानीय भेसभुसा सहितको संस्कृतिको विकासमा जोड दिन सकेको खण्डमा रारामा पर्यटनको बिकास भई स्थानीय बासिन्दाको आय आर्जनमा सुधार आउने देखिन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत