मङ्लबार, फाल्गुन ८, २०८०

फेवातालमा डुङ्गा सयर गर्नेहरुको भिड (फोटोफिचर)


कान्तिपथ


पोखरा । हिजोआज पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालमा डुङ्गा सयर गर्नेहरुको भिडभाड बढेको छ । विभिन्न शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकसहित विदेशी पर्यटकहरूको सङ्ख्यासमेत पोखरामा बढेकोले फेवातालमा डुङ्गा सयर गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको डुङ्गा व्यवसायीहरूको भनाई छ । 

फेवातालमा हिजो आज दैनिक जसो ३ हजार जना भन्दा बढीले डुङ्गा सयर गर्ने गरेको फेवा डुङ्गा व्यवसायी सङ्गठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार दसैँदेखि पोखरामा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै डुङ्गा सयर गर्ने र ताल बाराही मन्दिर दर्शन गर्नेहरुको भिडभाड बढेको बताउनु भयो ।

शनिबार मात्र पोखराको बाराही घाटमा मात्र करिब ५ हजार जनाले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायी मनिराम परियारले दाबी गर्नु भयो । उहाँका अनुसार बिहानदेखि बाराही घाटमा डुङ्गा सयर गर्ने र तालवराही मन्दिर दर्शन गर्नेहरुको निकै भिडभाड बढेको थियो । 


पोखराको बाराहीघाटदेखि तालबराही मन्दिरमा दर्शन गर्नेहरूसँग व्यवसायीहरूले लाइफ ज्याकेटको १० रुपैयाँ शुल्कसहित ७० रुपैयाँ लिने गर्नु भएको छ । दाङको हंस बाहिनी ७ चण्डीनगरपुरबाट शैक्षिक भ्रमणमा आउनु भएका शिक्षक विराट न्यौपानेले
डुङ्गा सयर गर्न पाउँदा औधी खुसी लागेको बताउनुभयो । उहाँले पोखरा आएपछि फेवातालमा डुङ्गा सयर नगरी फर्कनै मन नलाग्ने गरेकाे बताउनुभयाे । फेवाताल क्षेत्रमा थप सरसफाई गर्न आवश्यक रहेको उहाँले औँल्याउनु भयो ।

फेवातालका आठवटा घाटबाट डुङ्गा सञ्चालन हुने गदर्छ। बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय बढी डुङ्गाहरु संचालनमा छन् । अहिले ती सबै घाटका डुङ्गा चालक बिहानदेखि बेलुकासम्मै व्यस्त हुने गरेका छन् । पोखरा आएका पर्यटक फेवातालमा डुङ्गा चढ्न हुरुक्कै गर्ने गरेका कारण डुङ्गा चालकहरु व्यस्त हुन थालेका छन् ।

फेवाताल कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूमाझ लोकप्रिय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो।यो तालबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । 

यो नेपालको दोस्रो सबैभन्दा ठुलो ताल हो । यो ताल भन्दा ठुलो गण्डकीमा पर्ने बेगनास ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाइमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ ।  यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ ।  यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्युबिक मिटर (३५,००० एकड फिट) रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत