बुधबार, फाल्गुन ६, २०८२

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो


कान्तिपथ


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई लाख ९९ हजार ४१२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार ३१६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आव २०७९/०८० मा दुई लाख पाँच हजार ६०५ आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए । गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार ४७१ तथा आव २०७९/०८० मा ३७ हजार ९३५ पर्यटक भित्रिएका थिए ।

अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९/०८० मा ५५ हजार ८७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७८/०७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ । सूचना अधिकारी तिवारीका अनुसार गत आवमा पर्या–पर्यटनबाट रु ३० करोड ५७ लाख राजस्व संकलन भएको छ ।

अघिल्लो आवमा यो रकम २२ करोड ९४ लाख रहेको थियो । आव २०७८/०७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा ११ करोड ४९ लाख ९७ हजार ४१३ राजस्व संकलन भएको थियो ।

यसैगरी, आव २०७७/०७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार ३७६ राजस्व संकलन भएको थियो । आव २०७६/०७७ मा रु १९ करोड ९२ लाख ५५ हजार राजस्व संकलन भएको थियो ।

निकुञ्ज स्थापनासँगै आव २०३१/०३२ देखि पर्यटकको तथ्यांक राख्न थालिएको हो । सो आवमा ८३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्यांक छ । सो आवमा रु एक लाख ४० हजार राजस्व संकलन भएको थियो । आव २०३२/०३३ मा दुई हजार २०६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा रु दुई लाख एक हजार राजस्व संकलन भएको थियो ।

सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको संख्या बढेको बताए । भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनले उल्लेख गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत