सोमवार, बैशाख ९, २०८२

प्रहरी विचौलिया : कानुनी प्रक्रियामा लुकेको छायाँ सत्ता


कान्तिपथ


नेपालमा “प्रहरी विचौलिया” भन्ने शब्दले आज धेरैको कानमा सामान्य सुनिए पनि यसको प्रभाव भने असामान्य छ। विचौलिया भनेको प्रहरी प्रशासन र सर्वसाधारण नागरिकबीच अनौपचारिक रूपमा कार्य गर्ने त्यस्ता व्यक्तिहरू हुन्, जो आफ्नो निजी लाभका लागि कानुनी प्रक्रियामा हस्तक्षेप गर्छन्। उनीहरूले प्रहरीको पहुँच, शक्ति, र प्रक्रियालाई प्रयोग गरेर नागरिकमाथि प्रभाव पार्ने प्रयास गर्छन्।

विचौलियाको भूमिका के हुन्छ ?

१. केस मिलाउने काम
प्रहरी चौकी वा कार्यालयमा उजुरी परेपछि विचौलियाहरू सम्बन्धित पक्षहरूसँग मिलापत्र गराउने भन्दै बीचमा हस्तक्षेप गर्छन्। उनीहरूले दुवै पक्षबाट पैसा असुल्ने गर्छन्, खासगरी पीडित पक्षबाट दबाब दिन्छन् कि “मिलेर टुंग्याऊ, नत्र लामो केस जान्छ।”

२. थुना–रिहाइको सेटिङ
आपराधिक मुद्दामा पक्राउ परेका व्यक्तिको छिटो रिहाइ गराउने नाममा विचौलियाहरू सक्रिय हुन्छन्। प्रहरी अधिकृतहरूसँगको चिनजानको आधारमा उनीहरूले रिहाइ गराउने ‘ग्यारेन्टी’ दिन्छन्। यसरी उनीहरूले ठुलो रकम असुल्ने गर्छन्।

३. सरुवा र बढुवा सेटिङमा चलखेल
केही विचौलियाहरू प्रहरी कर्मचारीहरूको सरुवा, बढुवा वा चित्त नबुझेको कारबाहीको समाधान गर्न आफूलाई “लिङ्क” भएको व्यक्ति भन्दै प्रस्तुत गर्छन्। उनीहरू विभागीय सूचना चुहाउने, आन्तरिक प्रक्रिया बाहिर ल्याउने, र नीतिगत निर्णयमा प्रभाव पार्न खोज्ने पनि पाइन्छ।

४. अन्य गैरकानुनी कामको संरक्षण
लागुऔषध, जुवा, तस्करी, नक्कली कागजात, इत्यादिमा संलग्न समूहहरूले पनि प्रहरी विचौलियाहरू प्रयोग गर्छन्। यसले प्रहरी संस्थाको नैतिकता र इमान्दारी माथि गम्भीर प्रश्न उठाउँछ।

किन हुन्छ विचौलियाको प्रभाव ?

•सूचना असमानता: धेरै नागरिकलाई कानुनी अधिकार र प्रक्रियाको जानकारी नहुँदा विचौलियामार्फत काम गराउनु सजिलो लाग्छ।

•प्रहरीप्रतिको अविश्वास: “सिधै जानु भन्दा चिनजानबाट काम गराउनु सजिलो” भन्ने मानसिकताले विचौलियालाई स्थान दिएको छ।
•प्रशासनिक कमजोरी: प्रहरी विभागभित्र पारदर्शिता र जवाफदेहिताको कमीले पनि विचौलिया संस्कृतिको विकास गरेको देखिन्छ।

समाधान के हुन सक्छ ?

•जनचेतना अभिवृद्धि: नागरिकहरूलाई कानुनी अधिकार र प्रहरी प्रक्रियाबारे व्यापक जानकारी दिनुपर्छ।

•सूचना प्रवाहमा पारदर्शिता: प्रहरी कार्यालयमा उजुरी, कारवाही, र प्रक्रियाबारे स्पष्ट र खुला प्रणाली बनाइनुपर्छ।

•आन्तरिक अनुशासन: प्रहरी संगठनभित्र विचौलियाको पहुँचलाई निस्तेज पार्न निगरानी र कडा कारबाही आवश्यक छ।

•नागरिक सहभागिता: प्रहरी सेवा सुधारमा नागरिक समाज, पत्रकार, र विधि व्यवसायीहरूको सक्रिय भूमिका हुनुपर्छ।

निष्कर्षमा

प्रहरी विचौलियाको अस्तित्व न कानुनी राज्यसँग मेल खान्छ, न लोकतान्त्रिक मूल्यसँग। समाजका हरेक सचेत नागरिकले यो प्रणाली विरुद्ध आवाज उठाउनु आजको आवश्यकता हो। प्रहरी जनताको सुरक्षा र सेवा गर्ने संस्था हो, त्यो विचौलिया संस्कृतिबाट मुक्त हुनैपर्छ।

लेखक :- दिपक राज जोशी सुरक्षा बिटका पत्रकारका साथै, सुरक्षा सरोकार डटकमका प्रबन्ध निर्देशक हुनहुन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत