बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • अमृत साइन्स क्याम्पसका स्ववियु सचिव शाहीसहित ६ जना नक्कली परीक्षार्थी पक्राउ

अमृत साइन्स क्याम्पसका स्ववियु सचिव शाहीसहित ६ जना नक्कली परीक्षार्थी पक्राउ


कान्तिपथ


काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीको रुपमा पक्राउ परेका गोपाल शाही अमृत साइन्स क्याम्पस (अस्कल) का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव रहेको खुलेको छ।

उनी नेपाल प्रहरीको जवान पदका लागि अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेका बेला पक्राउ परेका हुन्।

शाही कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–७ स्थायी ठेगाना भएका २४ वर्षीय युवक हुन्। हाल उनी काठमाडौँको लैनचौरमा बसोबास गर्दै आएका छन्।

शनिबारको लिखित परीक्षामा उनले आफ्नो नाम नभई अर्का व्यक्तिको परिचयपत्र प्रयोग गरेर परीक्षा दिइरहेको सूचनाका आधारमा प्रहरीले रत्नराज्य माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सोही घटनामा संलग्न रहेर नक्कली परीक्षार्थीका रूपमा परीक्षा दिइरहेका अन्य ५ जनासमेत पक्राउ परेका छन्।

सबैजना अरूको नाम, नागरिकता र प्रवेश पत्र प्रयोग गरी प्रहरीको लिखित परीक्षा दिइरहेका थिए।

विद्यार्थी नेताबाटै यस्तो कार्य ?

पक्राउ परेका गोपाल शाही अमृत साइन्स क्याम्पसको स्ववियु सचिव समेत रहेको पुष्टि भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको छ।

विद्यार्थी राजनीति गर्ने र क्याम्पस नेतृत्व सम्हाल्ने जिम्मेवारीमा रहेका व्यक्ति नै यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न देखिनु शैक्षिक क्षेत्रमै कलङ्कको विषय भएको टिप्पणीहरू आइरहेका छन्।

शिक्षक, अभिभावक तथा विद्यार्थीबीच नैतिकताको उदाहरण बन्नुपर्ने पदाधिकारी नै यस्ता गतिविधिमा संलग्न हुँदा सम्पूर्ण विद्यार्थी राजनीति र स्ववियु व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ।

पाँच दिनको म्याद थप, अनुसन्धान जारी

पक्राउ परेका ६ जनामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि सार्वजनिक परीक्षा विधिमा ठगी, झुटो विवरण दिएर परीक्षा दिने जस्ता कसूरमा मुद्दा चलाउने तयारी भइरहेको स्रोतले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत