काठमाडौँ । नेपाल प्रहरीले राजधानीको अत्यन्तै व्यस्त व्यापारिक क्षेत्र न्युरोडबाट दुई करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको हिरा, सुन र चाँदीका गहना बरामद गरेको छ।
बरामद गरिएको ती गहना अवैध रूपमा कारोबार गरिएको पाइएको छ।
प्रहरीले भारतका चार नागरिकलाई पक्राउ गर्दै गहन अनुसन्धान थालेको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिल बोहराका अनुसार, गाेप्य सूचनाका आधारमा सञ्चालन गरिएको विशेष अपरेशनमार्फत उक्त गहना बरामद गरिएको हो। “हामीलाई विशेष स्राेतका आधारमा अवैध रूपमा गहना कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भयो,” एसपी बोहरा भन्छन्, “त्यसपछि टोली परिचालन गर्यौं र फलस्वरूप हिरा, सुन र चाँदीसहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भयौं।”
पक्राउ परेकाहरू को–को?
पक्राउ पर्नेहरूमा भारतका सुर्यजित दास, समिम सेख, हविवुल सेख र तमल सान्द्रा रहेका छन्। उनीहरूले नेपालमा प्रवेश गरी बिना कागजात उच्च मूल्यका बहुमूल्य गहना किनबेच गरिरहेको प्रहरी अनुसन्धानले देखाएको छ।
बिलबिनाकै कारोबार
एसपी बोहराका अनुसार, उनीहरूले आफूले बोकेको गहना किन र कहाँबाट ल्याएको भन्ने विवरण दिन सकेनन्। त्यस्तै, बिल र बिजकसमेत नदेखाउँदा उनीहरूको कारोबार गैरकानुनी भएको पुष्टि भएको हो। “ बोहरा बताउँछन्, “कागजात नदेखाउनु आफैँमा ठुलो शंका हो, र यसले अन्तरदेशीय तस्करीको आशंका समेत उठाएको छ।”
बरामद गहनाको मूल्य
प्रहरीका अनुसार बरामद गरिएका गहनाको अनुमानित बजार मूल्य करिब २ करोड १ लाख रुपैयाँ बराबर रहेको छ। तीमध्ये केही गहना हिराका छन्, जुन नेपालमा सजिलै उपलब्ध नहुने र अन्तर्राष्ट्रिय स्रोतमार्फत ल्याइएका हुन सक्ने आशंका गरिएको छ।
त्यसबाहेक, सुनका गरगहना, चाँदीका ब्रासलेट, औँठी, झुम्का, सिक्रीलगायतका सामग्री समेत बरामद गरिएको छ।
तस्करीका नयाँ प्रवृत्ति
प्रहरी अधिकारीहरूका अनुसार पछिल्लो समय नेपाल हुँदै भारत वा तेस्रो मुलुकमा बहुमूल्य धातु तथा गहना तस्करी हुने प्रवृत्ति बढ्दो छ। भन्सार छल्दै वैदेशिक मुद्रा प्रयोग गरी सामान भित्र्याउने र कालोबजारीमार्फत विक्री गर्ने धन्दा सक्रिय छ।
नेपाल प्रहरीले यस प्रकारका गतिविधिमा संलग्न समूहहरूको पहिचान र निगरानी तीव्र पारेको जनाएको छ। “अब गहना पसल मात्र होइन, अफिस, होटल वा ट्रान्जिट प्वाइन्टहरूमाथि पनि निगरानी बढाइनेछ,” प्रहरीले जनाएको छ।
कानुनी प्रक्रिया सुरु
पक्राउ परेका चारै जना विदेशी नागरिकमाथि हाल प्रारम्भिक अनुसन्धान भइरहेको छ। उनीहरूलाई आवश्यक प्रमाणसहित जिल्ला अदालत काठमाडौँमा पेस गरिने तयारी भइरहेको छ। प्रहरीका अनुसार यदि उनीहरू दोषी ठहरिए, उनीहरूविरुद्ध विदेशी नागरिक ऐन, भन्सार ऐन तथा संगठित अपराधसम्बन्धी कानुनी धाराहरूमा मुद्दा चल्न सक्छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ