काठमाडौं — प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका धादिङका अनिल बिसंखेमाथि कुटपिट भएको आरोप लागेको छ।
पूर्वसैनिक अधिकृतको घरबाट ल्यापटपलगायतका सामान चोरी गरेको आरोपमा पक्राउ परेका बिसंखेलाई अनुसन्धानका क्रममा प्रहरी जवान मदन भण्डारीले कुटपिट गरेको परिवारले दाबी गरेको छ। पाँच वर्षदेखि गौशाला प्रहरी वृत्तमै कार्यरत भण्डारीकै हातबाट कुटपिट भएको पीडित पक्षको भनाइ छ।
कुटपिटका कारण बिसंखेको बायाँ गालाको माथिल्लो भागको हड्डी फुटेको र उपचारमा करिब ४ लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको परिवारको भनाइ छ।
तर, प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालले भने कुटपिटको आरोप अस्वीकार गर्दै “थुनुवालाई नियमित स्वास्थ्य परीक्षणपछि मात्र हिरासतमा राख्ने गरिएको” बताए।
मानवअधिकार तथा प्रहरी आचारसंहिताअनुसार हिरासतमा कुटपिट प्रतिबन्धित भए पनि अनुसन्धानको नाममा प्रहरीद्वारा यातना दिने र थुनुवाको मृत्यु हुनेसम्मका घटनाहरू विगतमा बाहिर आइसकेका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ