मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकीले गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।अंशुको हत्या गरेको आरोपमा छिमेकी अन्दाजी ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । हत्यामा पदमकै संलग्नता रहेको यकिन भएको प्रहरी स्रोतले बतायो । यद्यपि, प्रहरी अधिकारीहरुले आधिकारिक पुष्टि गरिसकेका छैनन् ।
प्रहरी स्रोतका अनुसार पदम आफैंले अंशुको हत्या गरेको स्वीकार गरिसकेका छन् । असोज २१ गते दिउँसो घरबाट निस्किएकी उनको हत्या गरेर फालेको अवस्थामा कात्तिक ७ गते शव फेला परेको थियो । बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको तथा क्षतविक्षत एवं सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको हो ।
घरबाट हराएकै दिन अंशुको हत्या भएको र पछि बीभत्स अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । यद्यपि, बलात्कारपछि हत्या गरिएको हो कि हैन भनेर यकिन भइसकेको छैन । पदमले उनको हत्या गर्नुपर्ने कारण तथा कसरी हत्या गरियो भनेर पनि प्रहरीले खुलाएको छैन । तर, अभिभावकसँगको पुरानो रिसईबीका कारण नियोजित हिसाबले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
‘हालसम्मको अनुसन्धानबाट हत्यामा पदम एक्लैको संलग्नता देखिएको छ । विस्तृत अनुसन्धानबाट थप कुरा खुल्दै जान्छ । पदममाथि थप सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो । प्रहरीले लामो समय मिहिनेत गरेर अंशुको हत्यामा संलग्नको पहिचान गर्न सकेको हो ।
‘अंशुको हत्यापछि अनुसन्धानमा अनेक जटिलता उत्पन्न भए । शव नै सडेको अवस्थामा भेटिएकाले घटनाको निष्कर्षमा पुग्न कठिन भइरहेको थियो । तर, निक्कै मिहिनेत गरिएका कारण हत्यामा संलग्नसम्म पुग्न सकियो,’ प्रहरीका १ अधिकारीले भने । उनका अनुसार शव कुहिएका कारण धेरैजसो प्रमाणहरु नष्ट हुँदा प्रहरीलाई यो घटना टाउको दुखाइको विषय बनेको थियो ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत खटिएको थियो । प्रहरीको विभिन्न कार्यालयबाट खटिएको संयुक्त टोलीले अन्ततः हत्यामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन सफल भएको हो ।
घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितका प्रहरी अधिकारी खटिएका थिए । एसपी कटवालले घटना अझै अनुसन्धानकै क्रममा रहेको र केही व्यक्तिमाथि सोधपुछ भइरहेको बताए । ‘घटना यही व्यक्तिले गराएको हो भनेर अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । थप अनुसन्धान भइरहेको छ । सबै कुरा यकिन भइसकेपछि सार्वजनिक गर्छौं,’ उनले भने ।
घटना अत्यन्त संवेदनशील रहेको कटवालको भनाइ छ । ‘पोस्टमार्टम रिपोर्ट, डीएनए परीक्षण, फरेन्सिक अनुसन्धानलगायतका पाटोबाट विस्तृत अनुसन्धान भइरहेको छ । यो जघन्य आपराध हो । थप प्रमाण जुटाउँदैछौं,’ उनले भने ।घटनासँग सम्बन्धित धेरै विषयहरु विस्तृत अनुसन्धानबाट खुल्दै जाने कटवालको भनाइ छ । अंशुको बीभत्स एवं कुहिएको शव फेला परेको घटनास्थलमा उनले लगाएका ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएको थियो । घटनास्थलको संकेतले बलात्कारपछि हत्या गरिएको हुन सक्ने देखाएको थियो । तर, बलात्कारको पुष्टि भइसकेको छैन ।
प्रहरीले डीएनए परीक्षणका लागि नमुना संकलन गरेर पठाएको थियो । डीएनए रिपोर्ट भने आउन बाँकी रहेको प्रहरी स्रोतले बतायो । अभिभावकले सनाखत गरिदिएपछि शव अंशुकै भएको पत्ता लागेको थियो ।
अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । उनका बाबुआमाको आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए । घटनाको स्वरूप हेर्दा बलात्कारपछि हत्या भएको ठम्याउन सकिने उनको भनाइ छ । ‘अरु विषय प्रहरीको अनुसन्धानपछि पत्ता लाग्छ,’ तिम्सिना भन्छन् ।
घटनास्थल वरपरका बासिन्दासँग सोधपुछ, प्रमाण संकलन तथा शंकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गर्दै प्रहरी मुख्य अभियुक्तसम्म पुग्न सफल भएको हो । प्रहरीले यस घटनालाई लिएर अंशुका अभिभावकदेखि विद्यालयका शिक्षक, सहपाठी र छिमेकीलगायत अन्य धेरै व्यक्तिमाथि सोधपुछ एवं अनुसन्धान गरेको थियो ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ