बुधबार, फाल्गुन ६, २०८२

मोरङ प्रहरीको सफलता : अंशु गौतमका हत्यारा पक्राउ


कान्तिपथ


मोरङको लेटाङ-२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरण दुई महिनापछि प्रहरी निष्कर्षमा पुग्दै अभियुक्तलाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानमा भेटिएको शव र ठोस प्रमाणको कमीले अनुसन्धान निकै जटिल बने पनि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) तथा मोरङ प्रहरीले संयुक्त रूपमा अनुसन्धानलाई अघि बढाउँदै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गर्न सफल भयो।

२१ असोजको दिउँसो अंशु र उनकी साथी युरिका विद्यालय नजिकै खेलिरहेका थिए। त्यही बेला पुगेका पदमबहादुरले युरिकालाई ५ रुपैयाँ दिएर घर पठाए र अंशुलाई घाँस काट्न सघाइदिन भन्दै जंगलतर्फ लगे। जंगलभित्र उनले जबरजस्ती करणीको प्रयास गरे तर प्रतिकार भएपछि उनले घाँटी थिचेर हत्या गरे र शंका लागेपछि हँसियाले पनि घाँटी रेटेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटवालले जानकारी दिए।

हत्या गरेपछि पदमबहादुर सामान्यजस्तै व्यवहार गर्दै घाँस बोकेर घर फर्किए र भोलिपल्टदेखि नै अंशु खोजी अभियानमा सक्रिय बने-परिवारलाई ढाडस दिंदै, आफैं खोजीमा पनि सहभागी हुँदै।

७ कात्तिकमा अंशुको क्षत–विक्षत शव जंगलभित्र फेला परेपछि अनुसन्धान थप गम्भीर बन्यो। मोबाइल नबोक्ने, सँगै भएका सहकर्मी नदेखिएको, जंगल सुनसान भएको हुँदा अनुसन्धान कठिन बन्यो।

३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ, १६ जनाको पोलिग्राफ परीक्षण भए। पदमबहादुर वृद्ध र छिमेकी भएकै कारण प्रारम्भिक अनुसन्धानमा शंकाको घेराबाट टाढा राखिए। तर १९ कात्तिकमा पदमबहादुर अचानक घर छाडेर भारतको मेघालय जानुले शंका बलियो बनायो। छोरा सीताराम जबरजस्ती करणी प्रयास मुद्दा काटेर १८ कात्तिकमा घर फर्किएपछि बुवा भारत जाने नाममा परिवारलाई नबताई हराएको तथ्य प्रहरीले मनन गर्‍यो।

मेघालय पुगेका पदमबहादुरलाई आफन्तमार्फत् बोलाउँदा नआउने बताएपछि प्रहरी टोली विदेश पठाएर पक्राउ गर्ने तयारीमा थियो। तर आफन्तको दबाबपछि १८ मंसिरमा उनी घर फर्किए र भोलिपल्ट पक्राउ परी विस्तृत बयानमा घटनाको स्वीकारोक्ति गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटवालले जानकारी दिए।

अंशु गौतम हत्या प्रकरण दुई महिनापछि समाधान हुँदै, छिमेकी पदमबहादुर अधिकारीलाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। प्रारम्भमा जटिल बनेको अनुसन्धान मोबाइल नेटवर्क, सामाजिक प्रोफाइल विश्लेषण, निगरानी र असामान्य गतिविधिले अन्ततः प्रहरीलाई निष्कर्षसम्म पुर्‍यायो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत