बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य व्यक्ति फिलिपिन्समा पक्राउ

अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य व्यक्ति फिलिपिन्समा पक्राउ


कान्तिपथ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई विदेशबाट ज्यान मार्ने धम्की दिने समूहका कथित नाइके पक्राउ परेका छन्। ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ का मुख्य व्यक्ति भनिएका प्रकाश पाठक फिलिपिन्सको राजधानी मनिलामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ परेका हुन्।

उच्च स्रोतका अनुसार पाठक फिलिपिन्समा रहँदा त्यहाँको सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो। उनलाई नेपाल ल्याई कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको र हस्तान्तरण प्रक्रिया पूरा हुन केही दिन लाग्ने प्रहरी स्रोतले जनाएको छ। यसका लागि नेपाल प्रहरीको विशेष टोली तयारी अवस्थामा रहेको बताइएको छ।

समूहले गत मंसिरको दोस्रो साता अख्तियार प्रमुख राईलाई लक्षित गर्दै १० दिनको अल्टिमेटमसहित राजीनामा नदिए हत्या गर्ने धम्की दिएको थियो। अख्तियारको आधिकारिक इमेलमा पठाइएको पत्रमा १० जनाको हत्या गर्ने योजना रहेको र त्यस सूचीमा राईको नाम समेत समावेश रहेको उल्लेख थियो। उक्त पत्रमा आफूलाई संगठन प्रमुख बताउने प्रकाश पाठकको हस्ताक्षर रहेको जनाइएको छ।

प्रहरीका अनुसार इमेल र भिडियो सन्देशमार्फत ‘सुटरहरू तयारी अवस्थामा रहेको’ तथा ‘परिवारका सदस्यहरू समेत सुरक्षित नहुने’ जस्ता गम्भीर धम्की दिइएको पुष्टि भएको छ। धम्कीपत्रमा हत्या आफूहरूले जिम्मा लिने तर फरार कैदीमार्फत गराउने उल्लेख समेत गरिएको थियो।

धम्की सार्वजनिक भएसँगै प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान गरी लोकेसन ट्रयाकिङ सुरु गरेको थियो। अख्तियार प्रमुखलाई लक्षित गम्भीर धम्कीका मुख्य योजनाकार भनिएका पाठक पक्राउ परेपछि उनलाई नेपाल ल्याई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत