बुधबार, फाल्गुन ६, २०८२

विराटनगरका क्यासिनोमा प्रहरीको छापा, २० जना पक्राउ


कान्तिपथ



विराटनगरमा रहेका २ वटा क्यासिनोमा प्रहरीले आइतबार राति छापा हानेको छ । दुवै क्यासिनोबाट २० जना पक्राउ परेका छन् ।
प्रहरीले राति ११ बजेतिर छापा हानेर पक्राउ गरेकाहरु सबै नेपाली हुन् । रत्ना होटलमा सञ्चालित गोल्डेन कोइन नामक क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेकाले तत्काल नाम सार्वजनिक गर्न नमिल्ने कटवालको भनाइ छ ।
‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरुमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको छ । थप सोधपुछ गर्दैछौं । केहीले ‘हामी कर्मचारी हौं’ भनेका छन् । कर्मचारी भन्नेहरुको परिचयपत्र खोज्दैछौं । ‘स्कृनिङ’ गरिसकेपछि मात्रै कति जनाविरुद्ध मुद्दा चल्छ भन्ने यकिन हुन्छ,’ उनले भने । प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्वाध रूपमा जुवाजन्य खेल खेल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको जानकारी एसपी कटवालले दिए ।
‘प्रहरीले छापा हान्दा क्यासिनोमा नेपालीहरु निर्वाध रूपमा खेलिरहेको पाइयो । त्यही भएर व्यवस्थापकसहित त्यहाँभित्र रहेका सबै नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको छ,’ उनले भने । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।विराटनगरमा २ वटा क्यासिनो सञ्चालित छन् । कानुनले क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरेको छ । तर, दुवै क्यासिनोमा कानुनविपरीत निर्वाधरूपमा प्रवेश गरेर नेपालीले जुवा खेल्दै लाखौं रूपैयाँ सकिरहेका छन् ।
क्यासिनोका सञ्चालकले प्रवेशमा कुनै रोकटोक नगरिकन निर्वाधरूपमा प्रवेश दिँदा जुवाप्रेमी नेपालीले क्यासिनोलाई मनोरञ्जनस्थल बनाएर धन सम्पत्ति सकिरहेका छन् । क्यासिनोमा प्रवेश गर्न विदेशी नागरिक पुष्टि हुने ‘आइडी कार्ड’ अनिवार्य देखाउनुपर्ने नियम छ । पैसा कमाउनकै लागि सञ्चालकले नेपालीलाई क्यासिनो प्रवेश गराउने गरेको स्रोतको भनाइ छ ।क्यासिनोमा नेपालीको निर्वाध प्रवेशले विभिन्न अपराधिक घटना पनि भइरहेका छन् । नेपाली युवाहरूबीच क्यासिनोभित्र बारम्बार विवाद, झगडा र खुकुरी हानाहानका घटना भइरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत