काठमाडौं — मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्दै आएका प्रसाईंमाथि निर्वाचन आयोगविरुद्ध गम्भीर आरोप लगाएको, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बनाएको र त्यसका लागि रकम लगानी गरेको आरोप लागेको छ।
प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर परिणाम आफ्नो पक्षमा पारेको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। सोही विषयमा उनले सामाजिक सञ्जालमा भिडियोसमेत पोस्ट गरेका थिए। साथै, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजनासम्बन्धी अडियो सार्वजनिक भएपछि विषय थप गम्भीर बनेको हो।
निर्वाचन आयोगले उनीमाथि अनुसन्धान गर्न पत्राचार गरेपछि, सोमबार कार्यक्रमका लागि पोखरा पुगेका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउन पत्र प्राप्त भएपछि कास्की प्रहरीले कारबाही अघि बढाएको जनाएको छ।
पछिल्लो समय राजसंस्था पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्दै आएका प्रसाईं यसअघि पनि विभिन्न घटनामा पक्राउ परेर छुट्दै आएका थिए। कारागारबाट छुटेपछि जेनजी आन्दोलनका क्रममा उनको भूमिकालाई लिएर पनि प्रश्न उठेको थियो, जहाँ नेपाली सेनाले उनलाई आन्दोलनका सरोकारवालाका रूपमा वार्तामा समेत बोलाएको थियो।
जेनजी आन्दोलनबाट अपेक्षित प्रभाव नपाएपछि प्रसाईंले सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिँदै निर्वाचन बहिष्कार अभियान चलाइरहेका थिए। यसबीच निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाएपछि सरकारी डाटा चोरीसम्बन्धी अर्को अडियो सार्वजनिक भएको बताइएको छ। कास्की प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रसाईंलाई काठमाडौं पठाउने तयारी भइरहेको छ।
उल्लेखनीय रूपमा, सरकारले माघ २ गते मात्र प्रसाईं नेतृत्वको अभियानसँग सम्झौता गरेको थियो। कार्तिक २६ गते गृहमन्त्रीसँग २७ बुँदे माग राखिएकोमा दुवै पक्षबीच १२ बुँदे सहमति भएको थियो। उक्त सम्झौतामा आन्दोलनका क्रममा लागेका संगठित अपराध तथा फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने, संवैधानिक तथा कानुनी सुधारका विषयमा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तथा सहकारी र लघुवित्त पीडितलाई राहत दिन ‘चक्रवर्ती कोष’ स्थापना गर्ने सहमति समावेश थियो।
तर पछिल्ला घटनाक्रमसँगै दुर्गा प्रसाईं फेरि प्रहरी हिरासतमा पुगेका छन् र उनीमाथि लागेको आरोपबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ