बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • मोरङ–२ मा रास्वपाको उम्मेदवार छनोट विवादमा, संसद आगजनी प्रकरणसँग जोडिए कृष्णकुमार कार्की

मोरङ–२ मा रास्वपाको उम्मेदवार छनोट विवादमा, संसद आगजनी प्रकरणसँग जोडिए कृष्णकुमार कार्की


कान्तिपथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर २ बाट कृष्णकुमार कार्कीलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको निर्णय विवादमा परेको छ। कार्की भदौ २४ गते संसद भवन परिसरमा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको तथ्य सार्वजनिक भएसँगै उनको उम्मेदवारीप्रति प्रश्न उठ्न थालेका हुन्।

संसद भवनभित्र कुर्सी जलाइएको दृश्य कार्की स्वयंको सामाजिक सञ्जालमा देखिनुका साथै टिकटक र फेसबुकमार्फत व्यापक रूपमा फैलिएको छ। ती दृश्यमा उनी समर्थकसहित बानेश्वरस्थित संसद भवन पुगेर आगजनीमा सक्रिय देखिएका छन्। कार्की मोरङको रतुवामाई नगरपालिका–९ का स्थायी बासिन्दा हुन् र केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएको बताइएको छ। उनका निकटवर्तीका अनुसार जेन–जी आन्दोलन सुरु हुनुभन्दा केही दिनअघि मात्र उनी स्वदेश आएका थिए।

भदौ २४ गते भएको आगलागीपछि सार्वजनिक भएका तस्वीर र भिडियोहरूले कार्की घटनामा प्रत्यक्ष संलग्न रहेको पुष्टि गर्ने दाबी गरिएको छ। कार्कीले समेत तोडफोड र आगजनीमा आफू संलग्न भएको स्वीकार गरेका छन्। यद्यपि, उनले संसद भवनको संरचना आफूले नजलाएको र केवल कुर्सीमा आगो लगाएको दाबी गर्दै भवन जलाउने कार्य ‘घुसपैठिया’ ले गरेको जिकिर गरेका छन्।

चासोको विषय के छ भने जापानमा रहँदा कार्कीले रास्वपाका सभापति रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दै आलोचना गरेका थिए। अहिले भने उनै लामिछाने नेतृत्वको पार्टीबाट चुनाव लड्ने भएपछि रास्वपाभित्रै असन्तुष्टि बढेको बताइन्छ।

संसद भवनमा आगजनीजस्तो गम्भीर घटनासँग नाम जोडिएको व्यक्तिलाई उम्मेदवार बनाइएको निर्णयले रास्वपाको आन्तरिक राजनीति र सार्वजनिक छविमा गम्भीर प्रश्न खडा गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत