काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार चोरीमा संलग्न प्रेम थारुलाई गएराति नागार्जुन नगरपालिका क्षेत्रको महांकालबाट नियन्त्रणमा लिइएको हो। नेपालगञ्ज स्थायी घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरी नियन्त्रणबाट भाग्न खोजेपछि थारुमाथि एक राउण्ड गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए। गोली थारुको खुट्टामा लागेको र हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार थारुले मंगलबार मध्यान्ह रिन्जी लामाको घरमा प्रवेश गरी करिब ३० तोला सुन, चाँदीका गहना तथा सि–माला जडित सुनको माला चोरी गरेका थिए। चोरी भएका सामग्रीको कुल मूल्य १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
घटनाको दिन दिउँसो करिब १२ बजे थारु घरभित्र पसी चौथो तलामा रहेको कोठाको ढोका फोडी बहुमूल्य गहना झोलामा राखेर निस्किएका थिए। घरका अन्य सदस्यहरू पाँचौँ तलामा र छतमा रहेका बेला चोरी भएको हुँदा तत्काल कसैले थाहा नपाएको प्रहरीले जनाएको छ।
करिब दिउँसो २ बजे ढोकाको ताल्चा फुटेको र गहना हराएको थाहा पाएपछि घरधनीले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि सुरु गरिएको अनुसन्धानको क्रममा चोरी भएको २४ घण्टाभित्रै अभियुक्त पक्राउ परेको हो।
यसअघि माघ १७ गते भोटेबहाल क्षेत्रमा भएको २५ तोला सुन चोरी घटनामा पनि थारुको संलग्नता हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ