काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका व्यक्ति उम्मेदवार बन्न अयोग्य मानिन्छन्। सोही प्रावधानका आधारमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा समावेश २१ जनाको नाम यसअघि हटाइएको थियो। तर, कालोसूचीमै परेका एक जना प्रत्यक्षतर्फका उम्मेदवारको नाम भने कायम रहेको पाइएको छ।
नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका रुपेश कुमार पाण्डे कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको दस्तावेज सार्वजनिक भएको छ। उनले सञ्चालन गरेको आर.पी. ट्रेड प्रा.ली.ले बैंकको कर्जा नतिरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आवश्यक प्रक्रिया पूरा गरी उनलाई कालोसूचीमा राख्न सिफारिस गरेको जनाइएको छ।
गत पुस ६ गते बैंकले ३५ दिनभित्र कर्जा नतिरे कालोसूचीमा राखिने चेतावनीसहित सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको थियो। तोकिएको समयसीमाभित्र पनि कर्जा भुक्तानी नभएपछि कर्जा सूचना केन्द्रले २०८२ माघ २८ गते पाण्डेलाई कालोसूचीमा राखेको कागजात प्राप्त भएको बताइएको छ।
आरपी समूह नामक कम्पनीमार्फत वीरगन्ज नाका हुँदै लत्ताकपडा आयात गर्दै आएका पाण्डेमाथि राजस्व छलीको आरोपसमेत लाग्दै आएको छ। सोही पर्सा–३ क्षेत्रका तत्कालीन एमाले सांसद राजकुमार गुप्ता ७६ लाख रुपैयाँ घुस प्रकरणमा हाल डिल्लीबजार कारागारमा छन्।
पाण्डे यसअघि नेपाली कांग्रेसमा सक्रिय थिए। नेपाली कांग्रेसले पर्सा–३ मा प्राध्यापक सुरेन्द्र चौधरीलाई उम्मेदवार बनाएपछि पाण्डे एमाले प्रवेश गरी टिकट लिएको बताइएको छ।
कालोसूचीसम्बन्धी विषयमा प्रतिक्रिया लिन खोज्दा पाण्डेको मोबाइल फोन सम्पर्कबाहिर रहेको जनाइएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ