मङ्लबार, चैत्र १७, २०८२

पाटागोनियामा ७ करोड वर्ष पुरानो दुर्लभ डाइनोसर अण्डा फेला


कान्तिपथ


अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का प्यालेन्टोलोजिस्टहरूले पाटागोनिया क्षेत्रमा दुर्लभ र सुरक्षित अवस्थामा रहेको डाइनोसरको अण्डा पत्ता लगाएका छन्। करिब ७ करोड वर्ष पुरानो मानिएको उक्त अण्डा ‘बोनापार्टेनीकस’ नामक सानो मांसाहारी डाइनोसरको भएको बताइएको छ।

वैज्ञानिक समुदायले यस खोजलाई अत्यन्त महत्वपूर्ण उपलब्धि मानेको छ। मांसाहारी डाइनोसरका अण्डाको बोक्रा शाकाहारीको तुलनामा निकै पातलो र कमजोर हुने भएकाले यस्ता अण्डा सुरक्षित अवस्थामा भेटिनु दुर्लभ मानिन्छ।

मुख्य अनुसन्धानकर्ता डा. फेडरिको एगोलिनका अनुसार विशेष प्रकारको बालुवायुक्त वातावरणका कारण अण्डा फुट्न नपाई संरक्षित रहन सफल भएको हो। अण्डा भेटिएको रियो नेग्रो प्रान्त लाई वैज्ञानिकहरूले ‘प्रागैतिहासिक नर्सरी’को उपमा दिएका छन्, जहाँ अन्य घस्रने जन्तु तथा स्तनधारी प्राणीका जीवाश्मसमेत फेला परेका छन्।

यस क्षेत्रमा अधिकांश अवशेष टुक्रिएका अवस्थामा भेटिए पनि उक्त अण्डा भने पूर्ण रूपमा सुरक्षित रहेको छ। वैज्ञानिकहरूले अण्डाभित्र डाइनोसरको भ्रूण सुरक्षित हुनसक्ने सम्भावना व्यक्त गरेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार अण्डाको संरचनाले मांसाहारी डाइनोसरको विकासक्रम तथा आधुनिक चरासँगको सम्बन्धबारे नयाँ तथ्य उजागर गर्न सहयोग पुर्‍याउनेछ। अब अण्डालाई स्क्यान गरी भित्री संरचनाको विस्तृत अध्ययन गरिनेछ। अध्ययनपछि उक्त नमूनालाई पाटागोनियाकै एक संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शन गरिने तयारी गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत