बिहिबार, चैत्र १९, २०८२

पीडित मिडियामा बोलेपछि ग्रीन सिटी अस्पतालको धम्की?


कान्तिपथ


Green City Hospital मा उपचार सेवा सम्बन्धी गम्भीर गुनासो सार्वजनिक भएपछि झन् चिन्ताजनक व्यवहार बाहिर आएको छ। पीडितले आफ्नो पीडा सार्वजनिक गरेपछि आफूलाई अस्पतालका कर्मचारी बताउने व्यक्तिले फोन गरी चर्को आवाजमा बोल्दै “के फ्रीमा उपचार गर्नु पर्‍यो?”, “मिडियामा गएर के पायौ?” जस्ता शब्द प्रयोग गरेको आरोप लागेको छ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्तो व्यवहार अत्यन्त गैरजिम्मेवार र अमानवीय भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। बिरामीले आफ्नो समस्या सार्वजनिक गर्दा समाधान दिनु पर्ने ठाउँमा उल्टै दबाब दिने शैली अपनाइएको आरोपले अस्पतालको सेवा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको हाे।

पीडितका अनुसार अस्पतालमा डाक्टरहरू राति करिब ९ बजेसम्म मात्र उपलब्ध हुने बताइन्छ। सामान्य अवस्थामा केही घण्टामै आउने CT स्क्यानको रिपोर्ट समेत यहाँ भोलिपल्ट मात्र आउने भन्दै बिरामीलाई घर पठाइने गरिएको छ। यसले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने निमुखा नागरिकलाई झन् ठूलो पीडा थप्ने काम गरिरहेको गुनासो बढिरहेको छ।

आज रिपोर्ट नआउने भन्दै बिरामीलाई घर पठाइन्छ, तर भोलिपल्ट त्यही रिपोर्ट लिनका लागि फेरि अस्पताल धाउनुपर्ने अवस्था सिर्जना हुन्छ। यसले बिरामीको उपचार मात्र होइन, उनीहरूको दैनिक जीविकोपार्जनमै प्रत्यक्ष असर पारिरहेको स्थानीयको भनाइ छ।

स्वास्थ्य सेवा भनेको व्यापार मात्र होइन, मानव जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। यदि बिरामीले गुनासो राख्दा उल्टै धम्कीपूर्ण शैलीमा फोन गर्ने प्रवृत्ति बढ्दै जाने हो भने सर्वसाधारणले न्याय कहाँ खोज्ने?
यस घटनाले स्वास्थ्य संस्थाहरूको सेवा, जिम्मेवारी र आचारसंहितामाथि गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकाय, विशेषगरी Ministry of Health and Population र नियामक निकायले यस विषयमा तत्काल ध्यान दिनु आवश्यक देखिन्छ।

निमुखा जनताको पीडालाई बेवास्ता गर्ने र गुनासो राख्नेहरूलाई दबाब दिने प्रवृत्ति सह्य नहुने भन्दै सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।
यदि स्वास्थ्य संस्थामा जाने बिरामीले उपचारभन्दा बढी अपमान र तनाव भोग्नुपर्ने अवस्था आयो भने त्यसले स्वास्थ्य सेवाप्रतिको विश्वास नै गम्भीर रूपमा कमजोर बनाउनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत