विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका १२ जना नेपालीलाई अनलाइन ठगी (स्क्यामिङ) केन्द्र र क्यासिनोबाट उद्धार गरी स्वदेश फर्काइएको छ।
बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको समन्वयमा उनीहरूको उद्धार सम्भव भएको हो। दूतावासले सोमबार जारी गरेको विज्ञप्तिअनुसार ती नेपालीहरू मानव तस्करको जालमा परेर अवैध स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका थिए।
भिसा अवधि सकिएर अलपत्र परेका उनीहरू चैत १६ गते कम्बोडियाबाट उडेर सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। दूतावासले अझै अन्य नेपालीहरू पनि त्यस्तै अवस्थामा रहेको जानकारी दिँदै थप उद्धार प्रयास जारी रहेको जनाएको छ।
दूतावासका अनुसार स्क्यामिङ केन्द्रहरूले नेपाली कामदारको पासपोर्ट जफत गर्ने वा हराउने समस्या व्यापक रहेको छ। यस्तो अवस्थामा स्वदेश फर्किन चाहनेलाई बिना शुल्क ‘एकतर्फी यात्रा अनुमति पत्र’ उपलब्ध गराइने व्यवस्था गरिएको छ।
पछिल्ला वर्षहरूमा भ्रमण भिसामा कम्बोडिया जाने नेपालीको संख्या असामान्य रूपमा बढेको देखिएको छ। सन् २०२१ मा १०१ जना पुगेका नेपाली सन् २०२५ सम्म आइपुग्दा ९,६७६ पुगेका छन्। दूतावासले आकर्षक आम्दानीको प्रलोभनमा परेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डजस्ता देशमा भ्रमण भिसामा काम गर्न नजान आग्रह गरेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ