काठमाडौं। सानोभर्याङस्थित यातायात कार्यालय वरपर बिलबुक नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई ठगी गर्ने कार्यमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८२ चैत १७ गते दिउँसो १२:१५ बजे सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउँदै अवैध रूपमा रकम असुलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाबाट नगद रु. १ लाख २२ हजार र ५३ थान सवारी दर्ता किताब (बिलबुक) बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछाप उमाकुण्ड–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछाप खाँडादेवी–७ का ३५ वर्षीय रमेश कार्की, धादिङ नीलकण्ठ–५ की ३६ वर्षीया कल्पना लम्साल तथा नुवाकोट बेलकोटगढी–१२ का ३९ वर्षीय उद्धव खनाल रहेका छन्।
उनीहरूले सेवाग्राहीलाई छिटो सेवा उपलब्ध गराइदिने बहानामा रकम असुल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ