जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ अन्तर्गत एकैदिन ६० जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार शनिबारदेखि सुरु गरिएको उक्त अपरेसनमा जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी वृत्त, प्रभाग र अन्य युनिट परिचालन गरिएको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक छानबिनपछि निर्दोष पाइएमा रिहा गरिने उनले जानकारी दिए।
प्रहरीका अनुसार सार्वजनिक स्थलमा शान्तिसुरक्षा भंग गर्ने, शंकास्पद गतिविधिमा संलग्न हुने, लागुपदार्थ सेवन गर्ने तथा समूहमा बसेर होहल्ला र अवाञ्छित क्रियाकलाप गर्ने व्यक्तिहरूलाई लक्षित गरी अपरेसन चलाइएको हो।
नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले पनि उक्त अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। यसले स्थानीय क्षेत्रमा सुरक्षा मजबुत बनाउनुका साथै डरत्रासको वातावरण अन्त्य गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ