काठमाडौं । ललितपुरस्थित सरकारी सेवा कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक हैरानी तथा अवरोध पुर्याउँदै आएका ३२ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको संयुक्त प्रहरी टोलीले ललितपुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नापी कार्यालयतर्फ २१ जना र यातायात व्यवस्था कार्यालयतर्फ ११ जना गरी कुल ३२ जना बिचौलियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।
सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने, काममा अवरोध सिर्जना गर्ने तथा अनधिकृत रूपमा काम गराउने गतिविधिमा उनीहरू संलग्न रहेको आरोप छ।
प्रहरीले यस्तो गतिविधि नियन्त्रण गर्न नियमित निगरानी तथा कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ