गृह मन्त्रालयले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित बागलुङमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको छ । शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा विभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो ।
केही दिनदेखि नगर प्रमुख नेपालीसहित सहकारीका पदाधिकारी सम्पर्कविहीन छन् । ढोरपाटन नगरपालिका १ र बागलुङ नगरपालिका २ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका प्रमुख नेपाली भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले जानकारी दिए ।सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ ।
भुक्तानी खोज्ने बचतकर्ताले गत वैशाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रतिव्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैयाँ बचत संकलन गरेको छ । १८ प्रतिशत ब्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतबार बेलुकी पनि बचतकर्ताले जिल्ला प्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए ।
संस्थापक अध्यक्षको रुपमा नेपालीसहित सहकारीको कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्राअनुमति रद्द भएको हो । विक गलकोट नगरपालिका ११ र शाही निसीखोला गाउँपालिका ३ का बासिन्दा हुन् भने अरु सबै ढोरपाटन नगरपालिका १ का बासिन्दा हुन् ।
नेकपा (एमाले)बाट ढाेरपाटनकाे मेयरमा दुई पटक निर्वाचित भएका उनी साे क्षेत्रका सक्रिय नेता मानिन्थे। तर, आफ्नाे लाेकप्रियता र शक्तिकाे आडमा रकम चलखेल गर्ने बानी परेका उनी पछिल्लाे समय मानसिक समस्यामा परेकाे र उपचारकाे लागि विदेश जाने बताउँदै आएका थिए।
प्रजिअ श्रेष्ठकाअनुसार नेपालीले ४ दिनअघि इलाका प्रहरी कार्यालय बुर्तिवाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै पत्र बुझाएका थिए। त्यसदिनयता उनी सम्पर्कमा छैनन्।
त्यसअघि उनले गत वैशाख ९ गते सूचना टाँसेर सहकारी बन्द भएकाे जानकारी गराएका थिए। त्यसपछि उनलाई शेयर सदस्य र बचतकर्ताहरुले कार्यालयमा नै आएर हैरान पार्न थालेका थिए।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ