काठमाडौं । भारतकी चर्चित इनफ्लुएन्सर तथा रेडियो प्रस्तोता (आरजे) सिमरन सिंहले आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
२६ वर्षीया सिमरन बुधबार राति कोठामा पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
सिमरन मूल रूपमा जम्मू जिल्लाको दिग्याना इलाकाकी बासिन्दा थिइन् । दुई वर्षदेखि गुरुग्रामको सेक्टर ४७ मा भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन् ।
प्रहरीकाअनुसार बुधबार राति १० बजे सेक्टर ४७ का केही व्यक्तिले कन्ट्रोल रुममा एक युवती झुण्डिएर आत्महत्या गरेको खबर गरेका थिए ।
प्रहरीले घटनास्थलमा पुगेर शवलाई कोठाबाट निकालेर अनुसन्धान गरिरहेको छ ।
परिवारकाअनुसार सिमरन केही समयदेखि समस्यामा परेकी थिइन्, तर यस विषयमा परिवारले न कसैलाई आरोप लगाएको छ न त कसैविरुद्ध उजुरी नै गरेको छ । प्रहरीले सिमरनको फ्ल्याटबाट कुनै सुसाइड नोट फेला पारेको छैन ।
घटनाबारे सिमरनको साथीले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी घटनास्थल पुग्दा फ्ल्याटको ढोका भित्रबाट ताला लगाइएको थियो । सिमरनको शव बिहीबार बिहान पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।
सिमरनले रेडियोको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्, तर पछि सामाजिक सञ्जालतिर लागिन् । उनको इन्स्टाग्राम अकाउन्टमा धेरै भिडिओ छन्, जसलाई उनका फ्यानले निकै मन पराएका थिए । प्रहरीले यस विषयमा परिवार र साथीभाइसँग सोधपुछ गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ