बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोडबढी अवैध सम्पत्ति आर्जन

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोडबढी अवैध सम्पत्ति आर्जन


कान्तिपथ


काठमाडौं । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेकपा एस संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियारका अनुसार २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सोडारीको तलबभत्ता, पत्नीको बचत, छोराको पारिश्रमिकलगायत ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक आय देखिएको साथै यस अवधिमा जग्गा खरिद, घर निर्माणलगायतमा १ करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ खर्च देखिएको छ ।

आम्दानी र खर्चको तुलना गर्दा सोडारीले १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ गैरकानूनीरूपमा आर्जन गरेको देखिएकाले सोबराबरको बिगो मागदाबी गरिएको छ । 

उनले आयोगसमक्ष पेस गरेको सम्पत्ति विवरणमा समेत वास्तविक सम्पत्तिको लुकाएको पुष्टि भएकाले लुकाई छिपाई राखिएको सम्पत्ति जफतको दाबी गरिएको छ । अख्तियारका अनुसार निजले सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र प्रदेश सांसद हुँदा पदिय मर्यादाविपरीत कार्य गरेकाले थप सजायको माग गरिएको छ ।

गैरकानूनीरूपमा कमाएको सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैङ्क मौज्दात देखिएकाले उक्त सम्पत्ति जफतका लागि दुईजनालाई प्रतिवादी बनाइएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) दीर्घ बहादुर सोडारी उपर रु.१,०८,३८,३०२।५७ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०८२।०२।१९ गते।

सुदुरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) दीर्घ बहादुर सोडारीले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा निज दीर्घ बहादुर सोडारीले सार्वजनिक पदधारण गरेको मिति२०७४।१०।०७ गतेदेखि मिति २०७९।११।१० सम्मको जाँच अवधिमा निजसमेतको खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक वचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत,  बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी जम्मा रु.८५,५१,३३४।९२ (पचासी लाख एकाउन्न हजार तीन सय चौतीस रूपैयाँ र बयानब्बे पैसा) वैधानिक आय आर्जन गरेको देखिएको।
यसैगरी सोही जाँच अवधिमा व्ययतर्फ जग्गा खरिदमा भएको खर्च, घर निर्माण एवं सोही घरमा आन्तरिक सजावट खर्च,  छोरीको अध्ययन खर्च, निजको श्रीमती संचालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बीमा प्रिमियम भुक्तानी, प्रदेश सभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, शेयर लगानी, बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत गरी जम्मा रू. १,९३,८९,६३७।४९ (एक करोड त्रियानब्बे लाख उनानब्बे हजार छ सय सैतीस रुपैयाँ उनान्‍पचास पैसा) बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिंदा निजको जाँच अवधिको कुल/समग्र आयबाट सोही अवधिको कुल/समग्र खर्च तथा लगानी (कुल व्यय) घटाउँदा रु.१,०८,३८,३०२।५७ (एक करोड आठ लाख अठ्तीस हजार तीन सय दुई रूपैयाँ र सन्ताउन्न पैसा) ले कुल आयभन्दा कुल व्यय अधिक हुन गई सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा निजले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले निज दीर्घ बहादुर सोडारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई बिगो रु.१,०८,३८,३०२।५७ (एक करोड आठ लाख अठ्तीस हजार तीनसय दुई रूपैयाँ र सन्ताउन्न पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवाना हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी पाउन र निजले यस आयोग समक्ष पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको पुष्टि भएकोले निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन साथै निज सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र प्रदेश सभा सदस्य रहेको र निजले भ्रष्टाचार निवारण ऐन, २०५९को परिच्छेद-२ (भ्रष्टाचार कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ।
निज दीर्घ बहादुर सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैङ्क मौज्दातको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतको प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निजहरुलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता       



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत