बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर घाइते

बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर घाइते


कान्तिपथ


मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले वृद्ध दम्पतीलाई विष मिसाएर खाना खुवाएको गम्भीर घटना सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार विष हालिएको खाना खुवाउँदा वृद्धा सासूको मृत्यु भएको छ । वृद्ध ससुराको अवस्था गम्भीर छ । सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको आरोपमा प्रहरीले बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ ।
स्थानीयका अनुसार शनिबार दिउँसो ७० वर्षीय भक्तबहादुर राई घरनजिकको खोल्सामा बेहोस अवस्थामा भेटिएका थिए । स्थानीयले उद्धार गरेर घरमा ल्याउँदा उनकी पत्नी ७७ वर्षीया इन्द्रमाया राईसमेत बेहोस अवस्थामा ढलिरहेकी थिइन् ।
घर वरपर हेर्दा खोरमा रहेका ३ वटा कुखुरासमेत मरिरहेको अवस्थामा भेटिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार बेहोस अवस्थामा भेटिएका वृद्ध दम्पतीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
आईसीयूमा उपचाररतमध्ये इन्द्रमायाको राति १०ः४० बजेतिर मृत्यु भएको जानकारी चौधरीले दिए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । चौधरीका अनुसार भक्तबहादुरको अवस्था गम्भीर छ ।
‘वृद्ध अवस्थाका भक्तबहादुरलाई स्थानीयले घर नजिकैको खोल्सीमा बेहोस अवस्थामा भेटेर घर ल्याएछन् । घरभित्र उनकी श्रीमती इन्द्रमायासमेत बेहोस अवस्थामा फेला परिछन् । खोरमा रहेका ३ वटा कुखुरासमेत मरेको अवस्था भेटिएको पाइयो । घटनाको प्रकृति हेर्दा खानामा विषादी प्रयोग भएको आशंका बलियो बन्यो,’ डीएसपी चौधरी भन्छन् ।
उनका अनुसार घटनाको अनुसन्धानका क्रममा वृद्ध दम्पतीसँगै बस्दै आएकी भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा रहेकी सुनीताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको उनले बताए ।
बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । घटनास्थलबाट प्रहरीले विषादीको बट्टा पनि फेला परेको छ । उक्त बट्टा अँगेनोमा हालेर जलाइएको अवस्थामा भेटिएकाले खानामा कुन विष मिसाइएको हो भनेर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।डीएसपी चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट सुनीताले सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको छ । वृद्ध दम्पतीले आफूले खाएर उब्रिएको खाना कुखुरालाई खुवाएका थिए । त्यसले खुकुरा पनि मरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भक्तबहादुर राई र इन्द्रमाया राईका आफ्ना सन्तान छैनन् । वृद्ध दम्पतीसँग भतिजो प्रशान राई र उनकी श्रीमती सुनीता कार्की बस्दै आएका थिए । प्रशान घर बाहिर रहेका बेला सुनीताले भने वृद्ध अवस्थाका सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनीताले विष मिसाएर सासू र ससुरालाई खाना खुवाउनुको कारण पत्ता लाग्न बाँकी छ । विस्तृत अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी डीएसपी चौधरीले दिए । उनका अनुसार घटनालाई गम्भीर रूपमा लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ ।पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीको प्रयोगबारे प्रयोगशाला जाँचपछि मात्रै वास्तविक कारण पुष्टि हुने उनको भनाइ छ । ‘हामीले सबै कोणबाट अनुसन्धान गरिरहेका छौं । विषादी कसरी र किन प्रयोग भयो भन्ने विषय प्रमुख प्राथमिकतामा छ,’ डीएसपी चौधरीले भने ।
घटनापछि बेलबारी क्षेत्रमा सनसनी फैलिएको छ । स्थानीय स्तब्ध बनेका छन् । स्थानीयले निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत