सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसका आधारमा तीन पूर्वप्रधानमन्त्री—शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’—को सम्पत्तिमाथि अनुसन्धान सुरु गरिएको छ। गृह मन्त्रालय स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसबारे विस्तृत छानबिन अघि बढाएको हो।
अनुसन्धानकै क्रममा आज बिहान पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद लिने तयारी गरिएको जनाइएको छ।
प्रहरीले ती पूर्वप्रधानमन्त्रीहरूको चल–अचल सम्पत्ति, आम्दानीका स्रोत र आर्थिक कारोबारको विस्तृत अध्ययन गर्ने बताइएको छ। भदौ २४ गतेको आगजनी घटनापछि देउवा र दाहालको घरमा जलेको नगद फेला परेको थियो, यस्तै अवस्था पूर्वमन्त्री खड्काको घरमा पनि देखिएको थियो।
अनुसन्धानलाई प्रभावित हुन नदिन स्थानीय प्रशासनले बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने कार्य रोक्न निर्देशन दिएको छ। आगजनीपछि क्षतिग्रस्त संरचना हटाएर नयाँ निर्माण गर्ने प्रयास भइरहेको भए पनि प्रहरीले हस्तक्षेप गर्दै कामदारलाई हटाएको छ।
त्यस घटनामा जलेको अवस्थामा भेटिएको नेपाली रुपैयाँ र अमेरिकी डलर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहिले नै संकलन गरेर राखेको जनाइएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ