काठमाडौँ — जनतालाई समृद्धिको सपना देखाउने सरकार र प्रमुख राजनीतिक दलहरुले विज्ञान र प्रविधिलाई महत्त्व नदिएको गुनासो एक अन्तरक्रियाका सहभागीले व्यक्त गरेका छन् ।
नोभेम्बर १० का दिन युनेस्कोको आह्वानमा मनाइँदै आएको विश्व विज्ञान दिवसको अवसरमा नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सले जुममार्फत् आयोजना गरेको अन्तरक्रियामा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले विज्ञान र प्रविधि दलहरुको प्राथमिकतामा नरहेको विचार राखे । ‘वैज्ञानिक समुदायले बुझाउन नसकेर हो कि दलहरुभित्र कहिल्यै विज्ञान र प्रविधिका एजेन्डामाथि छलफल भएको मैले पाएको छैन,’ उनले भने, ‘मुलुकलाई साँच्चिकै विकास र समृद्धिको बाटोमा अगाडि बढाउने हो भने सरकारले यस क्षेत्रमा लगानी बढाउनैपर्छ।’
विज्ञान र प्रविधिको समुचित विकासले नै विश्वका विभिन्न मुलुकले फड्को मारेको उदाहरण दिँदै सरकारले अहिलेलाई ‘रिसर्च एन्ड डेभलपमेन्ट’ (आरएन्डडी) मा कम्तीमा पनि एक प्रतिशत बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदीले आरएन्डडीका लागि एक प्रतिशत बजेट माग गरेर पठाए पनि त्यसलाई अर्थ मन्त्रालयले स्वीकृत नगरेकाले कार्यान्वयन नभएको स्पष्ट पारे । ‘बाहिरबाट हेर्दा मन्त्रालयले केही पनि गरेन भन्नेजस्तो देखिन्छ । तर, हामीले पठाएका आर्थिक तथा अन्य योजना अनुमोदन नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ,’ उनले भने ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकायका प्रमुख डा. रविन्द्र ढकालले स्रोत–साधनको सीमितताले गर्दा नास्टले विज्ञान तथा प्रविधिसाग सम्बन्धित कामलाई व्यापकता दिन नसकेको उल्लेख गरे । ‘नास्टले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पछिल्ला दिनमा केही कामहरु गर्दै आएको छ । तर, त्यति मात्र पर्याप्त नभएकाले राज्यले नै यो क्षेत्रलाई विशेष प्राथमिकता राख्नुपर्छ,’ ढकालले भने ।
कार्यक्रममा नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका तर्फबाट विज्ञान पत्रकार सौगात बोलाखेले ‘नेपालमा विज्ञानमा लगानी’ शीर्षकमा आफ्नो प्रस्तुति दिँदै पछिल्लो समय आरएन्डडीमा शून्य दशमलव चार प्रतिशत मात्र लगानी हुनु सुखद नरहेको जिकिर गरे । नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका अध्यक्ष राजेन्द्र खनालले आगामी दिनमा ‘साइन्स पोलसी डायलग’लाई निरन्तरता दिइने बताए । नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका संस्थापक अध्यक्ष तथा कार्यक्रम प्रमुख छत्र कार्कीले विज्ञान पत्रकारिताको प्रवर्द्धनका लागि सरोकारवाला निकायहरु हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।
नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका सचिव गोविन्द पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विज्ञान पत्रकारहरु तथा अनुसन्धान क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ