काठमाडौँ — नेपाल भाषा एकेडेमीबाट स्थापित दान्यहिरा विज्ञान प्रविधि पुरस्कार यसवर्ष परम्परागत प्रविधिका विशेषज्ञ जगतवीर शिल्पकारलाई प्रदान गरिने भएको छ ।
ऐतिहासिक मन्दिरहरूको जीर्णोद्वार तथा निर्माण, पाटी-पौवाहरु निर्माणमा प्रमुख कालिगढ भएर पुर्याएको योगदानको कदर गर्दै शिल्पकारलाई पुरस्कार प्रदान गरिएको एकेडेमीले जनाएको छ ।
शिल्पकारले विश्व प्रशिद्ध न्यातपोल मन्दिर, भैरवनाथ, साँखुको बज्रयोगिनी, खोटाङको हलेसी महादेव, बनेपाको चण्डेश्वरी, नाला भगवती मन्दिरलगायत ६० भन्दा बढी ऐतिहासिक मन्दिरहरूको जिर्णोद्वारमा, पाटी-पौवा तथा मन्दिरहरू निर्माणमा प्रमुख कालिगढ भएर काम गरेका छन् ।
सन् २००३ जर्मनीको ह्याम्बर्ग सहरमा प्यागोडा शैलीको मन्दिर निर्माणमा पनि प्रमुख शिल्पकारका रुपमा उनले काम गरेका थिए ।
विगत २२ वर्षदेखि ख्वप ईन्जिनियरिङ कलेजमा कार्यरत शिल्पकारले नयाँ पुस्तालाई परम्परागत प्रविधिको प्रशिक्षण दिँदै आएका छन् । २५ हजार राशीको दान्यहिरा विज्ञान प्रविधि पुरस्कार यसअघि नास्टका वरिष्ठ प्राविधिज्ञ डा. रमेशमान सिंह र नेपाली कम्प्युटरका अग्रणी मुनिबहादुर शाक्यलाई प्रदान गरिएको थियो ।