मन्त्रालयका अधिकारीहरूका अनुसार अब एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघ दोस्रो उच्च बिन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ ।
अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपास छ । तर यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक २०–२२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको प्रक्षेपण छ ।
डेल्टा भेरियन्टको संक्रमण फैलिएको दोस्रो लहरमा सबभन्दा धेरै २८ वैशाखमा ९ हजार ४८३ जनामा पुष्टि भएको थियो । संक्रमण दर ४४.४९ प्रतिशत थियो । त्यसबेला बेड अभाव, अक्सिजन तथा अन्य व्यवस्थापन राम्रो हुनसक्दा थुपैै व्यक्तिले ज्यान गुमाउनु परेको थियो । जनस्वास्थ्य विज्ञहरूका अनुसार डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कम घातक देखिएको छ । तर डेल्टाभन्दा तीन गुणा बढी रफ्तारमा फैलिने भएकाले छोटो समयमा धेरै मानिस संक्रमित हुन्छन् ।
संक्रमितमध्ये ८५ प्रतिशतलाई सामान्य असर देखिनेछ भने १० प्रतिशत अस्पताल पुग्नुपर्छ, ५ प्रतिशतभन्दा कमलाई आईसीयू तथा भेन्टिलेटर सपोर्ट चाहिन सक्ने मन्त्रालयको विश्लेषण छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेल भन्छन्, ‘ओमिक्रोन भेरियन्ट कम घातक भएकाले कमै संख्यामा आईसीयू तथा भेन्टिलेटरमा जान सक्छन् । त्यसकारण हामीसँग भएका आईसीयू तथा भेन्टिलेटरले धान्न सक्ने अनुमान छ, तर जनरल बेडको अभाव हुने देखिन्छ ।’
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल देशभरमा ८ हजार २०२ वटा आइसोलेसन बेड, ३ हजार ८४६ एचडीयू, २७९७ आईसीयू र १००८ वटा भेन्टिलेटर सहितका बेड छन् ।
ओमिक्रोन भेरियन्ट कम घातक भएकाले कमै संख्यामा आईसीयू तथा भेन्टिलेटरमा जान सक्छन् ।
डा. पोखरेल
यो निजी तथा सरकारी अस्पतालको बेड संख्या हो, जहाँ कोभिडसँगै नन् कोभिडका विरामीहरूको उपचार भइरहेको छ ।
तर संक्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय संक्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ । ‘बेड अभाव भएको अवस्थामा अन्य निजीमा रहेका नन् कोभिड विरामीहरूको व्यवस्थापन गरेर भए पनि सेवा दिने योजना बनाइरहेका छौं’, डा. पोखरेलले भने ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ