सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।
शिक्षण संस्था नखुलेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सन्चालन नभएपछि विद्यार्थीहरु घर फर्किएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका–३ मा शंकास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले लम्कीचुहा नगरपालिका–३ स्थित धोवेनी खोलाको पुलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिए ।
त्यहाँ भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ । डीएसपी विष्टकाअनुसार जिल्लामा रात्रीकालीन बसहरु गन्तव्यतर्फ गइरहेको भएपनि अन्य सवारी साधन चल्न सकेका छैनन् ।
एमसीसीको विरोधमा बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी पार्टी लगायतका ६ दलीय मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् ।