झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरेको छ । नगर क्षेत्रका दुई धार्मिकसहित २० सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
“सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीका लागि पोशाक वितरण गर्न थालिएको हो”, उहाँले भन्नुभयो, “अभिभावकले पोशाक खरीद गर्न नसकेकै कारण विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्, यस्तो अवस्था आउन नदिन र विद्यालयप्रति आकर्षण बढाउन अभियान शुरु गरिएको हो ।” अभियानअन्तर्गत सामुदायिक विद्यालयका कक्षा–५ सम्मका विद्यार्थीका लागि विद्यालय पोशाक वितरण गरिने भएको छ । सुरुआतमा बिर्तामोड–६ स्थित सरस्वती माध्यमिक विद्यालयका १६४, वडा नं ७ स्थित लक्ष्मी आधारभूत विद्यालयका ८३, जनता प्राथमिक विद्यालय खालबाडीका १४७ र वडा नं ८ स्थित शुक्रराज आधारभूत विद्यालयका १६८ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
“मजदूरी गरेर छोराछोरीलाई विद्यालय पठाए पनि विद्यालय पोशाक किन्न नसक्ने अवस्थाका अभिभावकलाई लक्ष गरी अभियान थालिएको र कतिपय विद्यार्थीले आफूसँग अरुकोजस्तो ड्रेस नभएका कारण मन दुखाउने तथा हिनताबोध गर्ने हुन्छन्”, नगरप्रमुख शिवाकोटीले भन्नुभयो, “विद्यार्थीमा एकरुपता ल्याउन पोशाक वितरण गरिएको हो ।” नगरका अन्य विद्यालयमासमेत धमाधम पोशाक वितरण गरिने नगरपालिकाले जनाएको छ ।
झापा गोल्डकपको मस्कट, नारा र गीत सार्वजनिक
बिर्तामोडस्थित डोमालाल रङ्गशालामा हुँदै आएको ‘झापा गोल्ड कप’को पाँचौँ संस्करणका लागि मस्कट, नारा र गीत सार्वजनिक गरिएको छ ।गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा हात्तीको छावाले फुटबल खेल्दै गरेको मस्कट झापा–११ फुटबल क्लबका संरक्षक जलकुमार गुरुङले सार्वजनिक गर्नुभएको थियो ।
त्यस्तै गोल्डकपको नारा र गीतसमेत सार्वजनिक गरिएको छ । झापाको पहिचानको रुपमा स्थापित हुँदै गएको झापा गोल्डकपलाई थप व्यवस्थित गर्दै लैजाने क्रममा मस्कट, नारा र गीत बनाइएको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताउनुभयो ।
मस्टक कलाकार पवन राजवंशीले बनाउनुभएको हो । गोल्ड कपको यस वर्षको नारा ‘हाम्रो गौरव, हाम्रो मान झापा गोल्ड कप हाम्रो सान’ तय गरिएको छ । गीतकार बसन्त थाम्सुहाङद्वारा रचित अफिसियल गीतमा डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ । यही फागुन २१ देखि बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सञ्चालन हुने गोल्डकपका लागि मैदान व्यवस्थापन, आर्थिक सङ्कलनलगायत काम भइरहेको आयोजक समितिले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ