बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • शिक्षा
  • स्टन्ट देखाउन पुलिसिङ्ग गर्दै हिड्ने शिक्षामन्त्री यसरी ‘बुँख्याचा’ बने !

स्टन्ट देखाउन पुलिसिङ्ग गर्दै हिड्ने शिक्षामन्त्री यसरी ‘बुँख्याचा’ बने !


कान्तिपथ


२०७४ भदौ २ गते शुक्रबार नयाँ शक्ति पार्टीले संघीय परिषद सदस्य देवेन्द्र पौडेल सहित १५ जना आफ्ना नेताहरुलाई निष्काशित गर्यो। अवसरवाद मौलाएको भन्दै पार्टीले उनीसहित वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारलाई कारबाही गरेको थियो।

अवसर कै लागि मन्त्री बन्न माओवादीमा आएका भनिएका पौडेल ‘स्थायी कमिटीमा मन्त्री हुन बाँकी एक्लो व्यक्ति’ भन्दै प्रचण्डलाई रिझाएर शिक्षा मन्त्री बन्न सफल भएका छन् । बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका पौडेल २०२१ सालमा बागलुङको अमलाचौरमा जन्मिएका थिए। पौडेललाई २०७४ माघ १२ गते बाग्लुङ्गको बुर्तिबाङ्गमा आफ्नै कार्यकर्ताले पिटेको हल्ला चलेको थियो । ढोरपाटन नगरपालिका वडा नं १ मा स्थित मिराज होटलमा उनलाई उनकै कार्यकर्ता तुलसीराम अर्यालले कुटपिट गरेका थिए । हालसालै बुढानिलकण्ठ क्षेत्रमा १० आना जग्गा किनेका पौडेलले बाटोको लागि दैनिक किचकिच गर्ने गरेको एक स्थानियले बताए ।

शिक्षाको एजेन्डा जोडजोडले सडकमा उठाउने पौडेल अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गरेर संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए। तर आफुले उठाउदै आएका माग कार्यन्वयन गर्ने ठाउँमा आफैं पुग्दा समेत उनी ‘बुँख्याचा’ बनेर यता न उताका बनेका छन् । मेडिकल शिक्षा पढ्ने विद्यार्थीको समस्या समाधान गर्छु भन्दै जोडले लागेका पौडेल अहिले सेलाएका छन् । पुलिसिङ्ग गर्दै हिड्ने मन्त्री पौडेलको स्टन्ट निकम्मा साबित भएको छ भने मेडिकलका विद्यार्थीको समस्या ज्यूँकात्यूँ छ ।

राजनीति शास्त्रमा स्नाकोत्तर गरेका उनी २०६८ मा बाबुराम भट्टराई उनका प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार बनेर पीएको जागिर खान समेत पछि हटेका थिएनन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको थियो ।

महाधिवेशनको चौथो दिन बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि भएको छलफलको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको बेला गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने शिक्षामन्त्री तथा माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलकी छोरी पढाईका लागि अमेरिका उडेपछि माओवादी केन्द्रको राजनीति गर्माएको थियो। प्रचण्डको राजनीतिक प्रतिवेदनको हाईप त्यति बेला पौडेलको हर्कतले सेलाएको थियो ।

देवेन्द्र पौडेलकी छोरी गरिमा पौडेलले मेरिल्यान्डको बोवे स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन् । छोरीको दीक्षान्त समारोहमा सहभागी हुन नेता पौडेल र उनकी श्रीमती बलावती शर्मा केहि समय अगाडी अमेरिका पुगेका थिए।

केहि समय अघि सरकारी निर्णय नमान्ने र विद्यार्थीबाट अतिरिक्त शुल्क असुलि रहने नोबेल मेडिकल र काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि विद्यार्थीले सिंहदरबारमै कालोमोसो दले ।

नोबेल र केएमसी (काठमाडौँ मेडिकल कलेज)मा चरणबद्ध आन्दोलन गरेका एमबीबीएस विद्यार्थीका माग सम्बोधन गर्न शिक्षा मन्त्रालय असफल भएपछि विद्यार्थीले सिंहदरबारमै कालोमोसो दलेर उनको लुट शैलीविरुद्ध अराजक नै भए पनि आक्रोश व्यक्त गरेका थिए । उनीहरू मेडिकल शिक्षाको मनोमानीविरुद्ध चरणबद्ध संघर्षमा थिए ।

सञ्चालक शर्माले नोबेल र केएमसीमा एमबिबिएसका विद्यार्थीबाट ६ देखि १० लाखसम्म अतिरिक्त शुल्क उठाएको विद्यार्थीको गुनासो छ । अतिरिक्त शुल्क नबुझाए कक्षाकोठामै प्रवेश नै नदिने गरेपछि बाध्य भएर विद्यार्थी सडक आन्दोलनमा उत्रिएका थिए ।

सिनामंगलमा रहेको केएमसी सडकमै विद्यार्थी आन्दोलित भएपछि शिक्षामन्त्री देवेन्द्र पौडेल आफैँ त्यहाँ पुगेर सर्वपक्षीय बैठकबाट माग सम्बोधन गर्ने वचन दिएका थिए । खासगरी नोबेल र केएमसीमा चर्किएको विद्यार्थी आन्दोलनमा केन्दित छलफलमा सञ्चालक शर्माले खुलेआम अतिरिक्त शुल्क उठाउन पाउनुपर्ने माग गरे । यसका पछाडि उनले चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार निर्धारण गरिएको शुल्क वैज्ञानिक नभएको तर्क पेश गरे ।

आयोगले एमबिबिएसका लागि बढीमा ४० लाख र बिडिएसका लागि बढीमा २० लाख रुपैयाँसम्मको शुल्क तोकेको छ । तर मेडिकल कलेज सञ्चालक भने वर्षेनि अतिरिक्त शुल्क लिँदै आएका छन् । अहिले उक्त मुद्धा र बचनबाट शिक्षामन्त्री पौडेल पछि हटेको विद्यार्थीलाई भान हुन थालेको छ ।

हालै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो ।

शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २१०६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ । कस्ता-कस्ता विद्यालयमा आइसीटी ल्याब बनाउने भन्ने स्पष्ट मापदण्ड छैन । सबै खाले विद्यालयलाई एकै खालको ल्याबको व्यवस्था गर्ने भनिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत