बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • आफुलाई भोट हाल्ने जनतासँग काँडेतारले घेरिएर सांसदहरु आज एमसीसी छलफल गर्दै

आफुलाई भोट हाल्ने जनतासँग काँडेतारले घेरिएर सांसदहरु आज एमसीसी छलफल गर्दै


कान्तिपथ


प्रतिनिधि सभाको १०औं अधिवेशनअन्तर्गतको सातौं बैठक आज (बिहीबार) बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल प्रारम्भ हुने भएको छ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए। तर अर्थमन्त्री शर्मा भने हिजो नै पर्वत पुगेका छन् । पर्वत उद्योग वाणिज्य संघको बिहीबार हुने साधरणसभामा सहभागी हुन भन्दै उनी बुधबार नै पर्वतको कुश्मा पुगेका हुन्।

त्यसैगरी बैठकको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ। संसद् सचिवालयमा दर्ता भएको करिब साढे २ वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको छ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने गरी प्रतिनिधि सभाको बैठक बस्ने दिन मन्त्री शर्मा पर्वतमा हुनेछन्। यसअघि आइतबारको बैठकमा एमसीसी सम्झौता टेबल गर्दा पनि मन्त्री शर्मा अनुपस्थित भएका थिए। आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय भएपनि मन्त्री शर्माले सम्झौता टेबल गरेनन्।

एमसीसीका विषयमा दलहरुबीच एक मत बन्न सकेको छैन। नेपाली कांग्रेसले आफ्ना सांसदलाई बैठक अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। लामो समयदेखि संसद् अवरुद्ध गरेको नेकपा एमाले भने अवरोध कायमै राख्ने निर्णयमा अडिक रहेको एक सांसदले बताए।

अमेरिकी सहयोग परियोजना एमसीसी संसद‍्मा पेश भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन, राप्रपालगायतका अन्‍य दलहरुले समेत संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आएका छन् । भोलि निर्णायक आन्दोलन गर्ने उक्त संगठनले जनाएका छन् ।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत