३० वैशाखमा हुने स्थानीय तहको चुनावको एक महिना पहिले २८ चैतमा सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल आफ्नाे चारवर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जान लागेका छन् । उनीपछि एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल मध्ये एकजना आईजीपी हुनेछन । केसी र पौडेल जो आईजीपी भए पनि जम्मा ३ हप्ता मात्रै जिम्मेवारीमा रहनेछन् । उनीहरूले १९ वैशाखमा ३० वर्षे सेवा हदका कारण अवकाश पाउनेछन् ।
केसी कार्य तथा सीमा विभाग प्रमुख छन् भने पाैडेल मानवस्राेत विभाग प्रमुख छन् । केसी र पौडेलमध्ये एक जना आईजीपी नियुक्तसँगै हालका डीआईजीहरू चन्द्रप्रकाश (सिपि) गौतम, राजु अर्याल, नारायणदत्त पौडेलमध्ये एक जना एआईजी हुनेछन् ।
एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल १९ वैशाख २०४९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका थिए । २०५८ मा अर्धसैनिक बल सशस्त्र प्रहरी बल स्थापना भएपछि उनीहरू सशस्त्रमा गएका हुन् ।
डीआईजीहरू चन्द्रप्रकाश (सिपि) गौतम, राजु अर्याल, नारायणदत्त पौडेलमध्ये एआईजी हुनेचाहिँ केही दिनमै आईजीपी बन्नेछन् । त्यसैले २१ दिनको आईजीपी नियुक्ति भन्दा एआईजीको लविङ तीव्र छ ।
हालका एआईजी केसी र पौडेलमध्ये एक जना २१ दिनका लागि आईजीपी नियुक्तपछि एक दरबन्दी रिक्त हुन्छ । त्यही रिक्त दरबन्दी (एआईजी) मा बढुवा हुने नै भावी आईजीपी हुनेछन् । सशस्त्र प्रहरीमा एआईजी नभई आईजीपी हुने बाटो नियमावलीले बन्द गरेको छ । त्यसैले एआईजीको बढुवाको लविङ २१ दिन हुने आईजीपीको भन्दा तीव्र छ ।
साहित्यकार समेत रहेका नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका अधिकारीहरूमध्ये गौतम मात्र एक्ला बहालवाला अधिकारी हुन्, भारतको देहरादुनबाट सैनिक तालिमसमेत पूरा गरेका छन् । रसायनशास्त्रमा (एमएस्सी) गरेका उनी सशस्त्र प्रहरी बलमा रहेर विभिन्न कमाण्ड सम्हालिसकेका छन् । उपत्यका बाहिनी र सशस्त्र प्रहरी बल प्रदेश–२ को प्रमुखको जिम्मेवारी निभाएको अनुभव उनीसँग छ ।
सशस्त्र प्रहरी बलको विभिन्न ठाउँमा कमाण्ड गरेको अनुभव अर्यालसँग छ । उनी एसएसपीबाट डीआईजीमा बढुवा हुँदा एक नम्बरमा परेका अधिकारी हुन् । सशस्त्र प्रहरी बल मुख्यालय मानव स्रोत विभाग, सीमा सुरक्षा, प्रदेश–२ बाहिनी, उपत्यका बाहिनीको कमाण्ड उनले सम्हालिसकेका छन् ।
शान्ति मिसनमा खटिँदा युद्धग्रस्त देश लाइबेरियामा अप्रेसन कमाण्ड, साउथ सुडान र एसएसपी हुँदा सुडानमै खटिँदा उल्लेख्य काम गरेको अनुभव उनीसँग छ । हाल पनि अर्याल मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत छन् । डीआईजी बढुवामा एक नम्बर रहेका कारण अर्याल एआईजीका बलिया प्रतिस्पर्धी हुन् । अर्याल सशस्त्र प्रहरी बलका प्रवक्तासमेत भएका थिए ।
सशस्त्र प्रहरी बलका विभिन्न ठाउँमा कमाण्ड सम्हालेका पौडेलसँग ५ नम्बर विन्ध्यवासिनी बाहिनी र मुक्तिनाथ बाहिनी पोखरा प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ