सोमवार, माघ ७, २०८१

लमजुङमा घरेलु हिंसा न्यूनीकरण भएन


कान्तिपथ


लमजुङमा घरेलु हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारदेखि प्रहरीले विभिन्न माध्यमबाट प्रयास गर्दै आएतापनि यसमा कुनै कमी आउन सकेको देखिँदैन । गरिबी तथा अशिक्षा, चेतनाको कमी र बेरोजगार, मादक पदार्थ सेवन लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्दै गएको पाइन्छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि फागुन महिनाको २३ गतेसम्म ३३ वटा घरेलु हिंसाका मुद्दा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार ती उजुरी परेकोमध्ये २६ वटा मिलापत्रमै सीमित भएका छन् । चारवटा अदालती प्रक्रियामा गएको छ भने तीनवटाको काम भइरहेको छ ।

त्यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ मा ९२ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार ६० वटा मुद्दा मिलापत्र भएको थियो भने २३ वटाको अदालती प्रक्रिया र आठवटाको काम भइरहेको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजुरी परेका थिए । यसमध्ये ४५ मिलापत्र, ६ अदालती प्रक्रियामा गएको र १० वटाको काम भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा घरेलु हिंसासम्बन्धी १२ वटा निवेदन परेको थियो । सो निवेदनमध्ये नौ मिलापत्र भएको र तीनवटाको काम भइरहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा ७९ वटा उजुरी परेको थियो । तीमध्ये ४५ वटा मिलापत्र भइसकेको छ । १२ वटा अदालती प्रक्रियामा गएको र २२ वटाको काम भइरहेको बताइएको छ ।

त्यस्तै, यस चालु आवको साउनदेखि हालसम्म प्रहरी कार्यालयमा १५ वटा ठाडो उजुरी परेको छ । तीमध्ये १३ वटा मिलापत्र भएको, दुईवटाको काम भइरहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ मा २९ वटा ठाडो उजुरी प्रहरीमा परेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । उहाँले भन्नुभयो, “ती उजुरीमध्ये २१ वटा उजुरी मिलापत्र गरेको, दुईवटा अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको छ ।”

आव २०७६÷७७ मा कार्यालयमा १८ वटा ठाडो उजुरी परेकामा ११ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको छ । २०७५÷७६ मा सबैभन्दा धेरै १२६ वटा ठाडो उजुरीका निवेदन परेकामा ९१ मिलापत्र, २३ अदालती प्रक्रियामा र १२ वटाको काम भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम, नाटक, पोष्टर वितरण लगायतका क्रियाकलाप गर्दै आए तापनि घरेलु हिंसामा कमी आउन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत